तीव्र गतिमा गाडी चलाउनेले अब अनिवार्य रूपमा सचेतना कक्षा लिनुपर्ने

तीव्र गतिमा गाडी चलाउनेले अब अनिवार्य रूपमा सचेतना कक्षा लिनुपर्ने


अब काठमाडौं उपत्यकामा तीव्र रुपमा सवारीसाधन चलाउने चालकले अब अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने भएको छ । त्यसका साथै नियमानुसार जरिवाना तिर्नुपर्नेछ । आउँदो मङ्सिर १५ गतेदेखि उक्त नियम लागू हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि मापसे गरेर सवारी चलाउनेलगायत विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्नेले कक्षा लिनुपर्ने व्यवस्था थियो । अब भने तीव्र गतिमा चलाउनेले पनि अनिवार्य रुपमा एक घण्टाको ट्राफिक कक्षा लिनुपर्ने कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिएका छन् ।

अहिलेसम्म मापसे गरेर सवारीसाधन चलाउने, लेन नियम उल्लङ्घन गर्ने र रातो बत्ती क्रस गरेमा नियमअनुसार कारबाही गरी अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने व्यवस्था थियो ।

काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटनाको मुख्य कारण तीव्र गतिमा सवारीसाधन चलाउनु रहेको देखिएको एसएसपी भट्टको भनाइ छ । तीव्र गतिका कारण हुने दुर्घटनामा मानवीय क्षति बढी हुने गर्दछ । आव २०७८/७९ मा तीन हजार पाँच सय ४३ र चालु आवको तीन महिनाको ६ सय ४९ सवारी दुर्घटना तीव्र गतिका कारण भएको पाइएको छ ।

यस प्रकारका दुर्घटना नियन्त्रणका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सवारीसाधनको गति जाँच अभियानलाई तीव्रता दिइएको छ । यसरी तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई आव २०७८/७९ मा १८ हजार चार सय ४७ र चालु आवको तीन महिनामा आठ हजार पाँच सय ८४ जनालाई उक्त कसुरमा कारबाही गरिएको छ । तर सवारी चालकमा सचेतनाको कमीले गर्दा तीव्र गतिमा सवारीसाधन चलाउने प्रवृतिमा कमी नआएको र दुर्घटना बढ्दै गएको प्रहरीको निष्कर्ष छ ।