भावी राष्ट्रपतिमा देउवा कि महन्थ ?

भावी राष्ट्रपतिमा देउवा कि महन्थ ?


निर्वाचनपश्चात कसलाई राष्ट्रपति र प्रधानमन्त्री बनाइएला भन्ने जिज्ञाशा सर्वत्र प्रकट भइरहेको छ । धेरैले केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डमध्ये एकजनाले प्रधानमन्त्रीको जम्मेवारी पाउने विश्वास गरेका छन् । तर भावी राष्ट्रपतिका बारेमा भने एक प्रकारको अन्यौलको स्थिति देखापरेको छ र, यकीन गर्न सकिने स्थिति अहिलेसम्म छैन ।

नेकपा एमालेको स्थिति अनुकुल भएमा विद्यादेवी भण्डारी नै दोहोरिनसक्ने अनुमान एकथरीले गरेका छन् । कुनै पनि व्यक्ति दुई कार्यकाल मात्र राष्ट्रपति बन्न पाउने व्यवस्था संविधानले गरेको भए पनि भण्डारीको अघिल्लो कार्यकाल अपूर्ण रहेकोले राष्ट्रपतिमा दोहोरिन संविधान बाधक नबन्ने ठानिएको हो । स्वयम् विद्यादेवी भण्डारी भने स्थिति अनुकुल भएपनि आफू पुन: राष्ट्रपति बन्न इच्छुक नरहनुभएको बुझिएको छ । त्यस्तो अवस्थामा एमालेले अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल या सुवास नेम्वाङलाई राष्ट्रपतिका रूपमा अघिसार्न सक्ने सम्भावना रहेको छ ।

सत्ता गठबन्धन निर्वाचनपछि पनि कायम रहेमा राष्ट्रपति पदका सबैभन्दा बलिया उम्मेदवारका रूपमा शेरबहादुर देउवा देखिनुहुन्छ । देउवाको चाहना त फेरि पनि प्रधानमन्त्री बन्ने नै रहेको बुझिन्छ, तर परिस्थिति भिन्न भइ प्रचण्ड र आरजु आलोपालो प्रधानमन्त्री बन्ने स्थिति उत्पन्न भएमा शेरबहादुर देउवा राष्ट्रपतिको जिम्मेवारी लिन ‘बाध्य’ हुनुहुने सम्भावना प्रबल छ ।

गठबन्धनका नेताहरूमध्ये राष्ट्रपति बन्न इच्छुक अन्य केही पनि देखिएका छन् । तनहुँका काङ्ग्रेस नेता रामचन्द्र पौडेल, इलामका झलनाथ खनाल, रौतहटका माधवकुमार नेपाल, इलामकै कुलबहादुर गुरुङ र महोत्तरीका महन्थ ठाकुरलाई सम्भावित राष्ट्रपतिका रूपमा हेरिएको छ । उल्लिखित नेताहरूमध्ये रामचन्द्र पौडेलका नाममा सहमति बन्न मुस्किल छ, पौडेलको कार्यशैली र सोच अलिक जटिल भएकोले उहाँको नाममा सहमति बन्ने सम्भावना क्षीण देखिएको हो । निर्णायक बार्गेनिङ गर्ने संसदीय हैसियत भएमा राष्ट्रपतिका सशक्त दाबेदार माधवकुमार नेपाल बन्नुहुनेछ । माधव नेपालको समर्थनविना सरकार गठन नहुने या राष्ट्रपति चयन हुन नसक्ने स्थिति पैदा भएमा माधव नेपालको ‘बार्गेनिङ क्षमता’ मजबूत हुनेछ ।

उता झलनाथ खनाल पनि राष्ट्रपति बन्न इच्छुक देखिनुहुन्छ, तर परिस्थिति उहाँका निम्ति अनुकुल देखिएको छैन । चीननिकटको नेताका रूपमा हेरिने हुनाले पनि खनाललाई सत्ता गठबन्धनले राष्ट्रपति चयन गर्नसक्ने सम्भावना नरहेको हो । प्रचण्डको जोड आफू प्रधानमन्त्री बन्नेमा रहेको छ, त्यसैले उहाँले आफ्नो पार्टीका कसैलाई राष्ट्रपति बनाउनका लागि लड्ने सम्भावना देखिँदैन । जबकि नन्दकिशोर पुन, अग्नि सापकोटा र देव गुरुङलगायतका नेताहरू राष्ट्रपति बन्न इच्छुक रहेको बताइन्छ । उल्लिखित तीनैजना व्यक्ति गठबन्धनको सूत्रधार अन्तर्राष्ट्रिय शक्तिको आँखामा ‘गलत’ भएकोले उहाँहरूलाई राष्ट्रपति बनाइन सम्भव देखिन्न । बरु सापकोटा र गुरुङमध्ये एकलाई उपराष्ट्रपति बनाइने सम्भावनालाई भने इन्कार गर्न सकिँदैन ।

राष्ट्रपति पदका अर्का बलिया दाबेदारका रूपमा महन्थ ठाकुरको नाम लिने गरिएको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवारमध्ये सबैभन्दा ज्येष्ठ मानिने महन्थ ठाकुर कदाचित संसदीय निर्वाचनमा पराजित हुनु भए पनि राष्ट्रपतिको उम्मेदवार बन्न उहाँलाई कानूनी अड्चन हुनेछैन । महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन अन्तर्राष्ट्रिय शक्ति केन्द्रसमेत लागिपर्ने हुनाले पनि उहाँलाई राष्ट्रपति पदको बलवान उम्मेदवार मानिएको हो । त्यसैले शेरबहादुर देउवा राष्ट्रपति बन्न अनिच्छुक भएमा महन्थ नै राष्ट्रपति बन्नुहुने प्रवल सम्भावना रहेको छ । निर्वाचनपश्चात् प्रचण्डले आफूलाई प्रधानमन्त्री चयन गर्न दबाब पैदा गर्ने र काङ्ग्रेस प्रतिकुल भए एमालेसँग मिलेर भए पनि प्रधानमन्त्रीचाहिँ बनेरै छोड्ने निष्कर्षमा प्रचण्ड पुग्नुभएमा काङ्ग्रेस उहाँलाई प्रधानमन्त्री बनाउन बाध्य हुनेछ । हो, त्यस्तो अवस्थामा शेरबहादुर देउवा राष्ट्रपतिको उम्मेदवार बन्न बाध्य हुनुभयो भने कुनै आश्चर्य हुनेछैन । देउवा राष्ट्रपति बन्न इच्छुक नरहेको अवस्थामा भने महन्थ ठाकुर नै उक्त पदमा चयन हुन सक्नुहुने सम्भावना प्रबल छ ।