क्यास्पियन तटमा १३० लोपन्मुख सिल मृत फेला

क्यास्पियन तटमा १३० लोपन्मुख सिल मृत फेला


क्यास्पियन सागरको कजाख समुद्र तटहरूमा १३० भन्दा बढी लोपोन्मुख सिल मृत फेला परेका छन् । कजाकिस्तानको पर्यावरण मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै एएफपीले मृत सिलहरूको शव फेला परेको जनाएको छ।

मन्त्रालयले देशको पश्चिममा क्यास्पियन सागरको तटहरूमा १३१ सिलहरू मृत फेला परेको उल्लेख गर्दै शव परीक्षण गरिने र यस क्षेत्रको माटो तथा पानीको नमूनाहरू विश्लेषण गरिने जनाएको छ ।

संसारको सबैभन्दा ठूलो अन्तरदेशीय पानी क्यास्पियन सागरमा अवस्थित यी सिललाई काजाख सरकारले नोभेम्बर २०२० मा लोपोन्मुख प्रजातिहरूको सूचीमा राखेको थियो। क्यास्पियन सागर पाँच देशहरू: रूस, काजाकिस्तान, अजरबैजान, इरान र तुर्कमेनिस्तानले घेरिएको छ ।

क्यास्पियन सागरको सिल जनसंख्या दशकौँदेखि अत्यधिक शिकार र औद्योगिक प्रदूषणको प्रभावबाट ग्रस्त छ ।