- सन्जिव दुलाल, भक्तपुर
नेपाली कांग्रेसका संस्थापक नेता तथा लेजेण्डरी अर्थमन्त्री स्व. सुवर्ण शमशेर राणा नभएको भए सात सालमा प्रजातन्त्र आउन मुस्किल पर्ने जानिफकारहरूले बताएका छन् ।
सुवर्ण स्मृति परिषद्को केन्द्रीय कार्यालयको आयोजनामा भक्तपुरको सिपाडोलमा आयोजित ४५औं स्मृति दिवस तथा सुवर्ण स्मृति ग्रन्थ विमोचन कार्यक्रममा वक्ताहरुले राणाको सहयोगले नै नेपालमा प्रजातन्त्र आएको जिकिर गरेका हुन् ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति नवीन प्रकाशजंग शाहले कांग्रेसका संस्थापकमध्येका एक नेता सुवर्णको उचित मूल्यांकन हुन नसकेको गुनासो गरे । सुवर्णको योगदानले नै सात सालको क्रान्ति सफल भएको बताउँदै उनले अहिलेका पुस्ताले सुवर्णलाई भुल्दै गएकोप्रति दु:ख प्रकट गरे ।
२००७ सालको क्रान्ति सफल बनाउन त्यो बेलामा करोडौँ रुपँया खर्च गर्नुभएका राणाले आर्थिक सहयोग नगरेका भए प्रजातन्त्र आउन अझै समय लग्थ्यो भन्ने उनको तर्क थियो । सुवर्ण शमशेर त्यागी र निष्ठाले भरिपूर्ण नेता भएको उल्लेख गर्दै उहाँको सम्मानका लागि परिषद् स्थापना गरेर योगदानको चर्चा गर्नु प्रशंसनीय रहेको शाहले बताए ।
परिषद्का अध्यक्ष उद्धव ढुंगानाले आफ्नो सारा सम्पत्ति दान गर्न तयार हुनुभएका र कांग्रेसका धेरै नेतालाई बन्दी जीवनमा रहँदा आर्थिक सहयोग गर्नुभएका सुवर्ण शमशेरले २०१५ सालमा कांग्रेसले बहुमत ल्याएको बखत बीपीलाई प्रधानमन्त्री बन्न आग्रह गरेर त्याग गरेको धारणा राखे । नेपाली कांग्रेस पछिल्लो समय सत्तामा केन्द्रीत हुँदा त्याग गर्ने नेता छायामा पर्ने गरेको पनि उनले सुनाए ।
सो अवसरमा परिषद्का महासचिव श्रीभद्र ओझा, सचिव सरु बाँनियाँ लगायतले सुवर्ण शमशेरमा इमानदारी र त्यागको गुण पर्याप्त रहेको बताउँदै नेपाली रानीतिमा उहाँजस्ता त्याग गर्न सक्ने नेताको खाँँचो रहेको औंल्याए ।
ग्रन्थमा कांग्रेसका संस्थापक सभापति तथा पुर्वप्रधानमन्त्री बीपी कोइरालादेखि विभिन्न ५९ विशिष्ट लेखकका सुवर्ण शमशेर बारेका लेख तथा उहाँसँग सम्बन्धित ऐतिहासिक पत्र तथा फाटोहरु समाबेश छन् ।
परिषदले आगामी दिनमा सुवर्ण शमशेरका समकालिन ब्यक्तित्वसँगको उहाँको योगदान बारेको कुराकानी तथा उहाँले १७ वर्ष नेपाली कांग्रेसको सभापतिको जिम्मेवारी सम्हाल्दा भएका पार्टीका निर्णयहरुको दस्ताबेज सार्वनिक गर्ने तयारी गरेको जनाएको छ ।
प्रतिक्रिया