- धर्मपत्नीका साथ स्वर्गीय जगुपति
जगुपति सापकोटाको सामाजिक चेतना, जागरण र जनसेवाबारे केही कुरा
- डिल्ली अम्माई
‘ॐ त्रियम्बकं यजामहे, सुगन्धिं पुष्टिवर्धनं
उर्वारुकमिव बन्धनान् मृत्योर्मोक्षिय मामृतात्’
मृत्युन्जय अर्थात् मृत्युको विजेता त्यो हुन्छ जसले आफू सक्रिय छँदै समाज वा देशको लागि सम्झनायोग्य केही छोडेर जान्छ । समाजले कसै कसैका योगदानहरू कहिल्यै बिर्सन सक्दैनन् भने तिनै त्याग र योगदानले उसलाई मृत्युको विजेता बनाइदिन्छ । बाग्लुङ्ग दमेकको छहरामा जन्मेर आफ्नो उर्जाशील जीवन बिताएका एक सक्रिय जनभक्त, सामाजिक न्यायको पक्षमा डटेर लाग्ने न्यायप्रेमी, पुरानो सामन्तवादी सोच र शोषणको विरुद्ध आगो ओकल्ने विद्रोही र साहासिक निर्णयमा सतिशाल झैँ खडा हुने एक अजम्बरी व्यक्तित्व हुनुहुन्थ्यो जगुपति सापकोटा ।
उहाँको साहसको के कुरा गर्नु ! स्थानीय सामन्तहरू उहाँको एक हुङ्कारले हायलकायल हुन्थे रे, त्यो बेला । कसैमाथि अन्याय भएको देखिनसक्ने स्वभाव, बाटोघाटो, स्कुल, पुलपुलेसा चाहे त्यो सुन्तलाचौरको स्कुल बनाउदा होस् वा आफ्रे चिलैनेखर्कमा झोलुङ्गे पुल निर्माण गर्दा होस्, सबैतिर उहाँको नेतृत्वदायी योगदान छ ।
२०२४ सालतिर कालापातलदेखि एक्लेसालसम्म, अझ भनौँ फेदीसम्मकै गोरेटो बाटोलाई बिस्तार गरेर घोरेटो बाटो बनाउँदाको अटुट खटाइमा छहराबाट जगुपति र अर्का समाजसेवी लामखोरियाका मास्टरले गरेको नेतृत्वदायी भूमिका अझैसम्म सम्झिँदै छन् दमेकवासीले । उहाँको दुई परिवार भएकोले उपल्लो दमेक पखरीमा पनि एक घर थियो भने छहरामा उहाँका पुर्खाहरूको पसिनाले सिंचेको जमिन थियो । पछिल्लो चरणमा तल्ला बनहूँ बसाइँ सर्नुभयो । त्यहाँ पनि गाउँलेहरूले तेल पेल्नको लागि मात्र नभएर धान कुट्न समेत कुश्मी सेरा जानुपर्ने अवस्थालाई सरलीकरण गर्न रौदीमा पानि मेल बनाउनुभयो । अर्थात् उहाँको प्रेरणाले उहाँका छोराहरूले रौदीमा पानिमेलको संचालन गरे । जसको कारण राय डाँडादेखि उपल्लो दमेकसम्मको ठुलो दु:खको हरण गर्यो ।
मैले सम्झन्छु, उहाँको आर्थिक योगदानको तुलनामा सामाजिक योगदान अझै अतुलनिय छ । त्यसको अभिलेख राख्ने हो भने दमेकमा उहाँलगायत केही सामाजिक व्यक्तिहरूको स्मारक नै बनाएर राख्नुपर्ने हुन सक्छ ।
आर्थिक सहयोग भन्दा सयौँ गुणा गुणकारी हुन्छ सामाजिक योगदान, मानिसलाई गरेको सहयोग र नैतिक सुधारको आन्दोलन । यस मानेमा मैले स्वर्गीय जगुपति सापकोटाको योगदानलाई आफ्नो किशोरकालमा नजिकबाट चियाउने अवसर पाएँ । उहाँले असहाय मानिसलाई कसैले ठगेको, हेपेको र दुख दिएको देखिसहनुहुन्नथ्यो भन्नेबारे अनगिन्ति किस्साहरू अग्रजहरूबाट सुनियो र आफ्नो जीवनकालमा देखियो पनि ।
एक पटकको कुरा हो, हाम्रो गहतेदेखि केहि तल चिदीमा खेत थियो । चिदी जाने बाटोमा बाटोमा पर्ने गहते भन्ने ठाउँमा हाम्रा बालीघरे आरने काकाको घर पर्दथ्यो । कोदाको नल काट्ने आँसी र कोदालो अर्चाप्न आरने काकालाई दिएँ । त्यसपछि तल चिदी गएर एक भारी आँखीतरेको घाँस लिएर अर्चापेका हतियार लिन काकाको आरनमा गएँ । काकाले भर्खरै मेरा आँसी, कोदाला सकेर जगुपति पुसाजुका हतियार अर्चाप्दै हुनुहुँदो रहेछ । मैले मेरो झोलामा आफ्नो सामान राखेँ र घाँसको भारीमा झोला बाँधे ।
गहते बस्ने आराने काकाले जगुपति पुसाजुलाई आफ्नो गुनासो सुनाउदै थिए । एक्कासी काकाले घरबाट एक बोरा धान लिएर छहरे पुसाजुलाई देखाउँदै भने- ‘हेर्नुस काहिँला बा, मैले हिजो बाली उठाउन गएको फलाना (नाम गोप्य राखिएको०)ले यस्तो दाइँका पपटा दिए । वर्षभरि घन ठटाएर यस्तो पपटा दिन्छन् ।’
काकाको कुराले पुसाजुलाई बिझ्यो, एक्कासी रन्किँदै बोल्नुभयो– ‘हिँड.. मसँग यी पपटा मैले त्यसैको आँगनमा लगेर खन्याइदिन्छु ।’ ‘भो आफ्नो भाग्यमा… । झगडा हुन्छ’ भन्दै काका पन्छिदै थिए । पुसाजुले त्यो बोरा आफैं काँधमा बोक्न थाल्नुभएको थियो, त्यतिकैमा काकाले आँसी बाउसो अर्चापेर सँगै जाउँला भनेपछि पसाजु मथ्थर हुनुभयो । उहाँको विद्रोही स्वभाव पहिलोपटक त्यहीँ देखेको हुँ ।
पछि थाह भयो, जगुपति पुसाजुकै प्रतापले आराने काकाले दाइँका पपटाको सट्टा भकारीका दश पाथी धान पाएछन । यस घटनाबारे पछि गाँउभरि हल्ला भएको थियो ।
बुबाहरूले भन्नुहुन्थ्यो,‘ ‘छहरे काइलाज्वाइँ खरो हुनुहुन्छ । सामाजिक काम पहिला, घरको काम पछि हो उहाँको । दलितलाई हेपेको, छोइछिटो गरेको, गरिव र महिलालाई कुटपिट गरेको देखे उहाँले सहन सक्नुहुन्न ।’
पखरी उहाँको घरबाट आउँदा बान्नाको छपनी कसैले पल्टाएको छ भने उठाएर पुरानो ठाउँमा राख्ने, बिग्रेको बाटो सके एक्लै नसके मान्छे बोलाएर पनि बनाउने गरेको हामीले पनि देख्यौँ । दमेकमा सुत्केरीले हरियो साग सब्जी, लोकल कुखुरा र अण्डा खानुपर्छ भनेर स्वास्थ्यसम्बन्धी सल्लाह दिने बाहुनको पुरानो पुस्तामा सायद उहाँ मात्रै हुनुहुन्थ्यो ।
२०३१/०३२ सालतिर हो क्यारे ! निभारेका गुराइ हजुरबाले कैलासमा एक्लै चौतारो चिन्न थाल्नुभएको रहेछ । पोखरी (ठाउँको नाम)बाट उहाँ तल्लाथोक आउँदा छहरे काइला पुसाजुले देख्नुभएछ । त्यो चौतारो खन्न तीन दिनसम्म आफूमात्र आउनुभएन, अरुलाई पनि बोलाएर त्यो चौतारो सकेर बाटोतल बटुवाले खाउन् भन्ने मनसायले निबुवाको बोटसमेत सारेर निभारेका गुराइलाई सहयोग गर्नुभएको रहेछ । पछिसम्म पनि गुराइ हजुरबाले त्यो कुरा हाम्रा बाहरूलाई भन्नुहुन्थ्यो- ‘काहिलाको पेटमा पाप छैन, देखेको कुरा सबैका सामु भनि दिन्छ, कैलासदेखि सुन्तला चौरसम्म बाटोभरी बान्नाका यी छपनिमा समेत उसको नाम लेखिएको छ । कहिँ बिग्रेभत्केको उसले देख्ने सक्दैन ।’
उहाँको सेवाभाव, हिम्मत र सहासबारे जान्ने बुझ्नेहरूमद्धे धेरै त अहिले बितिसके । उपल्ला दमेकको अर्को पुस्ता पनि उहाँको योगदानहरूको कदर गर्दै हुर्केको पुस्ता हो । यो पंक्तिकार पनि त्यहि पुस्ताभित्र पर्दछ ।
वनमा पनि वनपालेले गरेको अनुगमनमा उहाँको चित्त नपर्ने । आफैले महिनामा एकाध पटक हेर्नुपर्ने ! बाले भन्नुहुन्थ्यो, ‘हाम्रा काहिलाज्वाइँले स्याउला वनमा काटेका हुन् कि खर्बारिका हुन् ठ्याक्कै चिन्नुहुन्छ । वन पाखा र प्रकृतिको समेत अगाध माया गर्ने भएकोले उहाँलाई बालक देखि बृद्धासम्म सबैले रुखको मित भनेर चिन्थे दमेकमा ।
जगुपति पुसाजु छहराबाट तल्ला बनहूँ सरिसकेपछिको एउटा कुराले मलाई सधैं चिमोटिरहन्छ । भुवारका एकजना शालिकराम मास्टरले रौसी खाएर तल्ला बनहूँ आएछन् । त्यो बेला बाहुनले रौसी खाँदा सबैको छि:छि र दूरदूर भइने ! तर जगुपति पुसाजुले ती मास्टरलाई कागतीपानी र अमिलो मोही ख्वाएर दिनभरि घरमा आराम गराइ राम्रोसँग सम्झाएर घर पठाउनुभएको रहेछ । त्यसपछि उनले जाँड छोडेका थिए रे ! गिदाहा बसाइँ सरेपछि सालिकराम सरले हामीसँग यसबारे कुरा गर्थे ।
उहाँमा कसैप्रति द्वेष र घृणा थिएन र, मानिसलाई मानसिक रुपमा प्रेमले परिवर्तन गर्न सकिन्छ भन्ने आत्मविश्वास कति मजबुत थियो भन्ने यो उत्कृष्ट प्रमाण थियो मेरालागि ।
उहाँले रौदिमा सुन्तलाखेति गरेर गाउँलेलाई नगदेबाली र फलफुल खेति गर्ने उदाहरण देखाउनुभयो । अहिले त्यो एरियामा सबैले सुन्तलाखेती गरेर आय आर्जन गर्न सिकिसकेका छन् ।
वि.सं. २०५७ को फागुनमा पंक्तिकार अमरापुरीका पुर्वप्रधानपन्च दाताराम पाण्डे बुबालाई लिएर भरतपुर हाकिमचोक जगुपति सापकोटाको घरमा पुग्यो । त्यहाँ पुग्नुको कारण के थियो भने दाताराम बुबाको छोरा दीपक पाण्डेसहित अन्य दुई जना साथीहरू विजय मल्ल र जीवनश्रेष्ठ सहित तीन जना पहिलो पटक पोर्तुगल पुगेका थिए । त्यहाँ सहाराको लागि उनीहरूको कोही थिएन । एकातिर भाषाको समस्या अर्कोतिर पोर्तुगलको स्थानीय परिस्थितिको अज्ञानता । जगुपति पुसाजुका दुई छोरा हेमु भाइ र टंक भाइ पोर्तुगलका पुराना ब्यवशायी भएको नाताले सहयोग माग्न हामी त्यहाँ गएका थियौँ । पुसाजुले आवश्यक सहयोगको लागि आफ्नो छोरालाई फोन गरेर जानकारी गराउनुभयो । त्यसपछि टंक भाइले ती तीन नेपालीलाई आत्मीय सहयोग गर्नुभएछ, जुन कुरा तिनै जनाले अहिलेसम्म सम्झिरहन्छन । बाबुको सामाजिक प्रेरणा र अनुरागले भविष्यका धेरै पुस्तासम्म प्रभाव पार्दोरहेछ । उहाँका सन्ततिहरूमा त्यो खालको सामाजिक भावना प्रवल हुनु सायद बुबाकै प्रेरणाले होला ।
दासका सिरान्घरे बुबाका अनुसार ‘पैसा आफ्नो लागि हो, मरेपछि कात्रो पनि निकाल्छन्, त्यसैले अरुको सेवाले नै यस लोक र परलोकलाई सजिलो बनाउँछ, मान्छे भएर जन्मेपछि आफ्नो मात्र हेरेर हुन्न, अरुको पनि हेर, समाजको सेवा भनेको मरेपछिको बाटाखर्ची हो’ भन्नुहुन्थ्यो उहाँले । चिलाउने खर्कको पुल बनाउँदा होस् कि सालघारीको बाटो खन्दा होस् उहाँले आँफै काम गर्नुहुन्थ्यो भने गाउँका ठालु हौँ भन्नेहरूले कामको सिन्को भाँच्दैनथे । खालि अह्रैया हुने र कजाउने गर्थे ।
‘ऋण दिएको ठाउँमा तिर्न सकेन भने पोर्लोकलाई भाडा हुन्छ, तिर्न सकेनौँ, एउटा पैसो देउ भो म ऋणमुक्त गरिदिन्छु भन्नुहुन्थ्यो छहरे काइलाबाले, बित्नुभएछ, अति दु:ख लाग्यो’ भन्नुहुन्थ्यो गुराइ माइलाबाले । लाग्छ, उपल्लो दमेक उहाँको स्वर्गबासले दु:खमा डुबेको छ अहिले ।

जगुपति सापकोटाले आँफु जीवित छँदै विशेषगरि मठ, मन्दिर, पौवा निर्माणको लागि धेरै सहयोग गर्नुभएको थियो । आफ्नै नाममा ट्रस्ट खोलेर सामाजिक क्षेत्रका लागि दान गर्नुभएको थियो । उहाँकै प्रेरणाबाट उहाँका छोराहरूसहित उहाँले देवघाट प्रसिद्ध हरिहर सन्यास आश्रमको लागि आफ्नै हातले आधि करोड भन्दा बढी आर्थिक सहयोग गर्नुभयो । दमेकतर्फ पनि कालापातल माविलाई १ लाख २० हजार, सुन्तलाचौर उच्च मावि १ लाख २० हजार, सरस्वति प्राविलाई ३ लाख आफ्नै हातले दान गर्नुभयो । उमानाथ, टंक, हेमलाल, लक्ष्मी, तुलसी, रामुलगायत आफ्ना छोराहरूलाई पनि हिम्मत नहार्नु, आफ्नो नाम र कामले चिनिनु र समाजलाई आफूभन्दा अगाडि राखेर सेवा गर्नु भनेर सल्लाह दिने जगुपति सापकोटाको प्रेरणाले होला, छोराहरू पनि आफ्नो परिश्रमले नेपाली डायस्पोरामा प्रख्याति कमाइरहेका छन् ।
दमेकका तीन आदर्श सन्तानहरू क्रमश: रितिपका तिलक सापकोटा राजनीतिक सेवामा, छहराका जगुपति सापकोटा (छहरे काइला) जातीय विभेद तथा सामाजिक कार्यमा र गौंदेरीका तुलसीराम तथा पिपल्कोटे जयलाल वैद्य प्रसुति तथा आयुर्वेदिक उपचार सेवामा अद्भुत हुनुहुन्थ्यो । यो संयोग हो कि के हो ? तीमध्ये तीन जनाको यही वर्ष अर्थात् २०७९ सालमै महाप्रस्थान भइ अमरत्व प्राप्त गर्नुभएको छ । उहाँहरूको नि:शुल्क समाजसेवाले सदैव दमेकलगायत सिंगो बाग्लुङ्गवासीलाई युगान्तसम्म प्रेरणा दिइरहने छ ।
आदरणीय राजनेता तथा प्रजातन्त्रका सेनानी तिलक सापकोटा, जाति र सामान्तबादी प्रथाका प्रखर विद्रोही शिक्षाप्रेमी जनसेवक जगुपति सापकोटा, वैद्य सिरोमणि जयलाल सापकोटाको आत्माको चीर शान्तिको कामना तथा हालसालै आफ्ना आदरणीय अग्रज तथा अभिभावक गुमाएको सम्पूर्ण सापकोटा परिवारजनमा हार्दिक समवेदना !
(, जन्मस्थान र आश्रमलाई दिएको दानको फाइल तस्बिर)
प्रतिक्रिया