नेपालका कारागारमा २५ हजार ९०६ जना नेपाली कैदीबन्दी

नेपालका कारागारमा २५ हजार ९०६ जना नेपाली कैदीबन्दी


मतदाता सूचीमा नाम हुनेले भोट हाल्न पाउने, अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा

नेपालका विभिन्न जिल्लामा रहेका कारगारमा कुल २७ हजार १९५ जना कैदीबन्दीहरु रहेका छन् । तीमध्ये नेपाली कैदीबन्दीको संख्या २५ हजार ९०६ रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

कारागारमा रहेका कुल कैदीबन्दीमध्ये २५ हजार ७०९ जना पुरुष र १ हजार ४८७ जना महिला रहेका छन् ।

विभागका अनुसार नेपालमा हाल कैदीको मात्र संख्या १४ हजार ६७८ रहेको छ । कैदीमध्ये १३ हजार ९३० पुरुष छन् भने ७४८ जना महिला रहेका छन् ।

यस्तै नेपालमा हाल कुल थुनुवा (बन्दी)को संख्या १२ हजार ५१७ रहेको छ । थुनुवामध्ये पुरुषको संख्या ११ हजार ७७९ र महिलाको संख्या ७३८ रहेको छ ।

कारागारमा रहेका नेपाली कैदीबन्दी आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुन पाउने छन् । उनीहरुलाई मतदानको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार कारागारमा रहेका कैदीबन्दीले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउनेछन् । कैदीबन्दीलाई आयोगले अस्थायी मतदाताको सूचीमा राखेको छ । आयोगले यस्ता अस्थायी मतदाताको लागि अस्थायी मतदान केन्द्रको व्यवस्था समेत गरिसकेको छ ।

अस्थायी मतदाताको लागि आयोगले ७७ जिल्लामा १४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरिसकेको छ ।

२०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा ल्याइएको हो ।

अस्थायी मतदाता हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानूनी व्यवस्था भएकोले आयोगले सोही बमोजिमको व्यवस्था मिलाइ मतदानको सुनिश्चितता गरेको छ ।