तीन दशकमा पनि बनेन सत्र किमि सडक

तीन दशकमा पनि बनेन सत्र किमि सडक


बाटो नखुल्दा सिमावर्तीका बासिन्दा पीडामा

  • डम्बर निदाल, डडेल्धुरा

तीन दशकदेखि बाटो नखुल्दा सीमावर्तीका बासिन्दा आधारभूत सेवा–सुविधाबाट समेत वञ्चित भएका छन् । डडेल्धुरा जिल्लाको अन्तिम बस्तीका जनता तीन दशकदेखि बाटो नखुल्दा आधारभूत सेवा–सुविधाबाट वञ्चित भएका छन् । सडक, शिक्षा, स्वास्थ्य, अस्पताल, बजार र यातायात जस्ता अत्यावश्यक सुविधा नपाउँदा समस्या भोग्नुपरेको स्थानीयको दु:खेसो छ ।

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ ब्रह्मदेव बजारदेखि दार्चुला जोड्ने महाकाली प्रस्तावित करिडोर सडकसँग जोडिएको डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नं. ७ को साँदनीदेखि वडा नं. ६ को कराली, गैराखान, चुनेपानी खाल मछेट्टिसडक विगत ३० वर्षदेखि चर्चामा रहे पनि काम अघि बढ्न नसकेको स्थानीय बताउँछन् ।

करिव १७ किलोमिटर मात्र लम्बाइ रहेको उक्त सडक सञ्चालनमा नआउँदा यस क्षेत्रका स्थानीयले शिक्षा, स्वास्थ्यलगायत दैनिक उपभोग्य बस्तुको उपभोगमा पनि कष्टकर जीवन बिताउन बाध्य भएको स्थानीय युवा भुपेन्द्र धामी बताउँछन् ।

सडक मात्र नभइ डडेल्धुरा जिल्लाको अन्तिम दक्षिण पश्चिम सिमानाका जनता सञ्चार सुविधाबाट पनि वञ्चित छन् । यो गाउँ आसपासमा दिउँसो घाम लागेको बेला मात्र मोबाइल नेटवर्कले काम गर्ने धामीले बताए ।

गाउँबाट एक सय मिटर मात्र दूरीमा महाकाली नदी छ, चारैतिर पानीका श्रोत छन् तर खानेपानी तथा सिंचाईको कुनै योजना तथा सुविधा छैन भने, सडक, शिक्षा, स्वास्थ्य, अस्पताल, बजार र यातायातको असुविधा भएको स्थानीय बताउँछन् ।

स्थानीय पालिका केन्द्र रहेको बजारमा जान पाँच घण्टा लाग्छ तर भारतिय बजारमा जान आधा घण्टा मात्र लाग्ने भए पनि महाकालीमा झोलुङ्गे पुलसम्म पनि नहुँदा स्थानीय सरकार एवम् जनप्रतिनिधिहरूप्रति पनि स्थानीय रुष्ट देखिएका छन् ।