स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रद्वारा पशुपतिनाथमा नृत्य-आराधना

स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रद्वारा पशुपतिनाथमा नृत्य-आराधना


भारतीय राजदूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले पशुपतिनाथ मन्दिरमा सोमबार साँझ ‘शिव पूजा’ कार्यक्रम सम्पन्न गरेकोे छ । पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको सो केन्द्रले जनाएको छ ।

स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका कलाकारहरूले परम्परागत नेपाली कुमारी नृत्य प्रस्तुत गरेसँगै कार्यक्रमको सुरुवात भएको थियो । तत्पश्चात कलाकारहरूले भरतनाट्यम विधाको पुष्पाञ्जली नृत्य प्रस्तुत गरेका थिए । उक्त नृत्यमा फूल अर्पण गरी परम्परागत शैलीमा अभिवादन गर्ने गरिन्छ ।

करिब एक घण्टा लामो कार्यक्रममा कलाकारहरूले नृत्यमार्फत शिव र पार्वतीको एउटै रुप अर्धनारीश्वर र शिवको नटेश स्वरुप प्रस्तुत गरे ।

कार्यक्रममा शिवनृत्यसँगै देवी र गणेशको पनि नृत्य प्रस्तुत गरियो र, सम्पूर्ण शिव परिवारप्रति भक्तिभाव प्रकट गरिएको थियो । देवीको आराधना गर्दै नेपाली शास्त्रीय प्रस्तुति समेत प्रस्तुत गरियो ।

पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश रावलले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए भने पशुपति क्षेत्र विकास कोषका अधिकारीहरूका साथ अन्य दुई सय भन्दा बढी व्यक्ति-व्यक्तित्वको कार्यक्रममा सहभागिता थियो ।