नाबालक छोरीसहित २० वर्षीया महिलाको हत्या

नाबालक छोरीसहित २० वर्षीया महिलाको हत्या


नुवाकोटको दुप्चेश्वर गाउँपालिका-५ भङ्गेरीमा सोमबार साँझ आमाछोरीको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरेर २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनको छोरी तीन वर्षीया कृष्टिना खतिवडाको हत्या भएको हो ।

दुप्चेश्वर गाउँपालिका-५ का वडाध्यक्ष मइतबहादुर तामाङले दिएको जानकारीअनुसार धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरका विभिन्न अङ्गमा गहिरो चोट पुर्‍याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव साँझ ७ बजे भेटिएको हो ।

प्रहरी चौकी समुन्द्रटारबाट गएको प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको र जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी त्यसतर्फ पठाइएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक रुपक खड्काका घटनामा अपराध भएको पाइएकाले सोही अनुसार प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।