उत्कृष्ट ढङ्गले जिम्मेवारी सम्पादन गर्न प्रधानसेनापतिको निर्देशन

उत्कृष्ट ढङ्गले जिम्मेवारी सम्पादन गर्न प्रधानसेनापतिको निर्देशन


प्रधानसेनापति प्रभुराम शर्माले पृतना तथा वाहिनी अड्डाका सैनिक कर्मचारीहरूलाई नेपाल सरकारबाट प्राप्त निर्वाचन सुरक्षासम्बन्धी जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिनुभएको छ ।

निर्वाचन सुरक्षाको अवस्थाबारे जानकारी लिने उद्देश्यले जिल्ला भ्रमणका क्रममा रहनुभएका प्रधानसेनापति शर्माले मकवानपुर, सिन्धुली र सुनसरीमा भएका छट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को सुरक्षा तयारी एवं वस्तुस्थितिका बारेमा जानकारी लिनुभयो ।

सोमबार मकवानपुरको हेटौँडास्थित सेनाको मध्यपृतना हेडक्वार्टर, सिन्धुलीको माझीटारस्थित श्रीनम्बर ९ वाहिनी अड्डा र सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गर्नुभएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले त्यहाँको वर्तमान अवस्था, जिम्मेवारी इलाका, प्रदेशसँगको समन्वयलगायत निर्वाचनको एकीकृत सुरक्षा योजनाका बारेमा जानकारी लिनुभएको थियो । दुईदिने निरीक्षण भ्रमणका क्रममा रहनुभएका प्रधानसेनापति शर्माले मङ्गलबार मोरङको थलाहास्थित भैरव गण, उदयपुरको झुल्केस्थित श्री नम्बर १८ वाहिनी अड्डा र काभ्रेपलाञ्चोकको भकुण्डेवेसीस्थित श्री नम्बर २६ वाहिनी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षाको अवस्थाबारे जानकारी लिनुहुने कार्यतालिका रहेको जनाइएको छ ।