देउवाले यसरी मागे चौधरीको लागि भोट !

देउवाले यसरी मागे चौधरीको लागि भोट !


  • आरपी उपााध्याय, नवलपरासी

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवलपरासीको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउन आग्रह गरेका छन् ।

नवलपरासी विकासमा धेरै पछि परेको र यो जिल्लाको विकासका लागि विनोद चौधरीलाई यहाँ पठाइएको देउवाको भनाइ छ ।

पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा आयोजित लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनलाई अत्याधिक बहुमतले विजय गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न आग्रह गरे । संसद विघटन नगर्ने र जनताले दिएको अभिमत पुर्णरुपले पालना गर्ने पार्टीलाई विजय गराउन मतदातासँग उनको आग्रह थियो ।

चौधरीको जितले यस क्षेत्रको विकासको ढोका खुल्ने भन्दै देउवाले नवलपरासी पश्चिमका मतदातालाई भने, ‘तपाईंहरु विनोद चौधरीलाइ जिताएर पठाउनुस्, हामी उहाँमार्फत यस जिल्लामा विकास पठाउँछौँ ।’

चुनावी सभामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी मंसीर ४ गतेको चुनाव पाण्डव र कौरवबीचको महाभारत युद्ध जस्तै भएकाले जनताले पाण्डवहरुको पक्षमा मतदान गर्न आग्रह गरे । ‘मंसीर ४ मा जनताले कौरब र पाण्डव मध्ये एक रोज्नुपर्ने अवस्था छ । जनताको अभिमतको अवमुल्यन गर्ने कौरवहरुको पराजय निश्चित छ ।’ प्रचण्डले भने, ‘मतदाताले लोकतान्त्रिक बाम गठबन्धनको पाँच पाण्डवहरुका उम्मेदवारलाई विजय गराउने छन् ।’ प्रचण्डको भनाइ पनि विनोद चौधरीको विजयबाट यो क्षेत्रको विकासको ढोका खुल्छ भन्ने नै थियो ।

सोही कार्यक्रममा काङ्ग्रेस केन्द्रिय सदस्य तथा क्षेत्र नम्बर १ का उमेदवार विनोद चौधरीले आफूले यस क्षेत्रका जनताले भोगेको मल, बिउ, डुबान तथा बेरोजगारीको समस्यालाई योजनाबद्धरुपमा समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । २५ वर्षसम्म रोकिएको विकासलाई अब गति दिने उनले बताए । चुनावीसभामा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् नवलपरासी क्षेत्र नं. २ का उम्मेदवार देवेन्द्रराज कँडेल, माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य घनश्याम यादव लगायतले पनि सम्बोधन गरेका थिए ।