यी १० स्थानमा हुँदैछ काठमाडौंका दश क्षेत्रको मतगणना

यी १० स्थानमा हुँदैछ काठमाडौंका दश क्षेत्रको मतगणना


काठमाडौंका १० स्थानमा मतगणना हुने भएको छ । दशवटै क्षेत्रको मतगणना अलग-अलग स्थानमा हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ।

कार्यालयका अनुसार मतपेटिका संकलनपछि आइतबारै रातिदेखि मतगणना प्रारम्भ गर्ने तयारी छ ।

काठमाडौं क्षेत्र नं. १ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा, ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा र क्षेत्र नं. ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुनेछ ।

काठमाडौं क्षेत्र नं. ५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, काठमाडौं क्षेत्र नं. ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, काठमाडौं क्षेत्र नं. ७ को बालाजुस्थित जुडो हलमा र काठमाडौं क्षेत्र नं. ८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा गणना हुनेछ ।

यसैगरी, काठमाडौं क्षेत्र नं. ९ को रविभवनस्थित न्याथम कलेजमा र काठमाडौं क्षेत्र नं. १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गर्ने तयारी छ ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार मतपेटिका संकलनको काम सुरु भएको छ। काठमाडौंमा ५५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ ।