- डा. युवराज सङ्ग्रौला
नेपालको यात्रा नयाँ विचार, रणनीति र विकासका कार्यक्रम बोक्ने समाजवादी दलको निर्माणतर्फ जाने कुराको विकल्प छैन । वर्तमान पुँजीवादको सङ्कट त पुरानो हो, तर समीर अमीन, इजीप्सिएन समाजवादी विद्वानले भनेझैँ त्यसले सन् १९३० को दशकको आर्थिक विग्रहपछि, उत्पादन, कारखाना, मालिक र श्रमिकको बस्तुगत पहिचानबाट आफूलाई अमुर्तकरण गर्दै, राज्यका रूपमा रुपान्तरण गर्यो । र, अमेरिका, युरोप र जापानको सामुहिक साम्राज्यवादमा परिणत भयो । अर्थात्, एकाधिकार पुँजीवाद साम्राज्यवादको पहिरनमा परिणत भयो ।
१. यस साम्राज्यवादको पहिरनमा उभिएको एकाधिकार पुँजीवाद संसारमा नवउदय भइरहेका देशहरूको आर्थिक समृद्धिलाई रोक्न चाहन्थ्यो, प्रविधिमा एकाधिकार कायम गर्न चाहन्थ्यो, विश्व प्राकृतिक श्रोतमा एकाधिकार कायम गर्न चाहन्थ्यो, विकाससील देशको अर्थतन्त्रमा आफ्नो नवउदारवादको अधीन कायम गर्न चाहन्थ्यो र हतियारको बजार र युद्धको निरन्तरता चाहन्थ्यो ।
२. नवउदारवादको रूपमा खडा भएको अमुर्त पुँजीवादले यस्तो भ्रम सिर्जना गर्यो जसका प्रभावमा अन्धो भएको गोर्वाचोभले सोभियत संघको विघटन गर्यो । पश्चिम बंगालमा बुद्धदेव भट्टाचार्य टाटाको समर्थनमा गरिब किसानका जग्गा खोस्न र उनीहरूमाथि गोली चलाउन थाले । नेपालमा नवउदारवादले काङ्ग्रेस र केही कम्युनिस्ट पार्टीलाई राज्यमा शासन गर्ने ‘अमुर्त पुँजीवादका प्रतिनिधि बनाइदियो, तिनका नेता एकाधिकार पुँजीवादका कर्मचारी बन्न पुगे ।
३. लोकतन्त्रका विगत ३० वर्षमा माफिया र दलाल पुँजीले कृषि र उत्पादन उद्योगको विनास गर्यो । नेपाली राष्ट्रिय पुँजी र पुँजीपतिको उन्मुलन गर्यो । नेपालीको शिक्षाबाट देशभक्ति, इतिहास, संस्कृति, विज्ञान र जागृत चेतना उन्मुलन गरिदियो । भ्रष्टाचारलाई ब्यवसाय बनाइदियो । बौद्धिकता पलायनलाई गौरवको विषय बनाइदियो । यो तीस वर्षको युग नेपाली हरेक दृष्टिकोणबाट नेपाली राष्ट्रको दिवालियापनको युग बन्यो ।
४. यी समस्या समाधान गर्ने स्पष्ट विचारधारा, रणनीति र कार्यक्रमबिना देशमा खुसहाली आउँछ भन्ने भ्रमित मानिस र असफलहरूको कहानी बताएर आफू सत्तामा पुग्न चाहने स्वार्थीहरूको जमात सानो छैन, अहिले । कुलो नखनी पानी आउँदैन, विचारबिना राजनीति सुध्रँदैन भन्ने सामान्य कुरा नबुझी राष्ट्रले सही बाटो लिँदैन । यो यथार्थ बुझ्ने उम्मेदवार कति होलान् देशमा ? अत्यन्त थोरै छन् । व्यावसायिक राजनीति गर्नेको बिर्ता बनेको छ, राजनीति । उनीहरू युवालाई जिम्मेवारी दिन सक्दैनन् । दलमा आवद्ध युवाको पनि ठूलो जमात त भ्रष्ट, झोले र भ्रमित ज्ञानको शिकार छ । उनीहरूलाई पछारेर नयाँ युगको शुरु गर्न चाहने काठमाडौंका अर्जुन प्रसाईं जस्ता गैरदलिय उम्मेदवारको सङ्ख्या पनि सानो छ ।
देशको अहिलेको आवाश्यकता विचारको निर्माण हो, ताकि तीव्र आर्थिक विकास र समाजको आधुनिकीकरणको लागि जग तयार होस् । वर्तमान निर्वाचनले देखाइसक्यो राजनीतिक दल विचारहीन छन् । थोरै गैरदलीय उम्मेदवारले मात्र राष्ट्रका स्वार्थलाई उठाएका छन् । बाँकी त आफ्नो दाउवाला मात्र छन् । तर यो निर्वाचनले नेपालले भोलि लिनुपर्ने बाटो तय गर्ने पक्का छ । यसको महत्व मानिसमा रहेको भ्रमलाई समाप्त गर्नुमा छ । यसपछिका निर्वाचनमा जनताले नंया दलहरू निर्माण गर्नेछन्, जोसँग विकासका सैद्धान्तिक विचार, रणनीति र प्रयोजनवादी कार्यक्रम हुनेछन् । विश्व राजनीतिक माहोलले पनि यही भन्छ । युरोपको वर्तमान आर्थिक र सामाजिक ब्यव्यवस्थाको पतनलाई सुनिश्चित गरेको कुरा युरोपका गल्लीमा उठेका जुलुसले देखाइएको छ । पश्चिमी पुँजीवादको सङ्कटलाई रोक्ने ताकत त्यो साम्राज्यवादको लुगामा सिँगारिएको एकाधिकार पुँजीवादको बाँकी छैन । डलरको एकाधिकार समाप्त हुने कुरा त देखिइसकियो । चीन र ब्रीक्सको उदयलाई रोक्न जापान, युरोप र अमेरिकाको संयुक्त साम्राज्यवादलाई सम्भव छैन अब । चीन एक्लैले विश्वको ३८ प्रतिशत ब्यापारको प्रतीनिधित्व गर्छ । औद्योगिक उत्पादनमा चीन पहीलो देश बनेको छ । वर्षमा एक करोड स्नातक उत्पादन गर्ने चीन, त्यसको २५ प्रतिशत उत्पादनमा सरिक हुने इन्जिनियर र प्राविधिक उत्पादन गर्छ । उ उत्पादनमा नयाँपन र आधुनिक चीनको निर्माणको हुङ्कार गर्न थालेको छ । नेपाल त्यसको छेउमा उभिएर त्यसलाई जिस्क्याउँदै छ । अमेरिकी गठबन्धनमा भारत जाँदैन भन्ने त्यसले देखाइसक्यो । तर नेपालको गठबन्धन सरकार भने अहिले पनि रुसका विरुद्ध भोट हाल्दैछ । उसको उत्तरी छिमेकीले सिमा किन बन्द गर्यो भन्ने कुराको कारकतत्व उसलाई अहिले पनि थाहा छैन । खोज्न पनि चाहँदैन ।
अब आधुनिक नेपाल बनाउने विचार, रणनीति र कार्यक्रम बोकेका दल बन्नुको विकल्प छैन । विश्व परिस्थिति र देशको आन्तरिक परिस्थितिले पनि यही कुरा बताउँछन् ।
- सामाजिक सञ्जाल
प्रतिक्रिया