भारतीय सिंचाई अधिकारीलाई बुझाइयो सुझावसहितको ध्यानाकर्षण पत्र

भारतीय सिंचाई अधिकारीलाई बुझाइयो सुझावसहितको ध्यानाकर्षण पत्र


  • आरपी उपाध्याय, नवलपरासी

नेपाल र भारतका सिंचाईं अधिकारीहरुको एक उच्चस्तरीय टोलीले नेपाली भूमिमा बनेका सरंचनाहरुको निरीक्षण गरेको छ । भारत, बिहार र उत्तर प्रदेशका सिंचाई अधिकारीहरु सम्मिलित टोलीले पूर्वी नवलपरासीको गण्डक ब्यारेज र ए ग्याप बाँध एवम् नारायणी नदीका स्परसहितको सरंचनाको निरीक्षण गर्नुका साथै पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाअन्तर्गत पर्ने बी ग्याप बाँध र ठोकरको पनि निरीक्षण गरेको हो ।

गण्डक नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ताले जानकारी दिएअनुसार गंगा बाढी नियन्त्रण उच्चस्तरीय आयोग भारतका टिम लिडर एमके श्रीनिवासको नेतृत्वमा आएको उच्चस्तरीय सिंचाई अधिकारीहरुको टोलीले नेपाली भूमिमा भारतले बनाएका सरंचनाबारे स्थलगत निरीक्षण गरेको हो । टोलीले नदीको कटान क्षेत्र र भविष्यमा हुन सक्ने क्षति रोक्ने बारे छलफल भएको बताइएको छ् ।

उक्त टिममा भारतीय पक्षबाट भारत उत्तर प्रदेश लखनउका सिंचाई निर्देशक विवेक पाल, नेपाल गण्डक पश्चिम नहर सिंचार्इ ब्यवस्थापन कार्यालय सेमरीका इन्जिनियर रनधीर कुमार साहलगायत प्राविधिकहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा गण्डक क्षेत्रमा नदीले पुर्‍याएको क्षति निरीक्षण गर्ने क्रममा गण्डक नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ताले सुझावसहितको ध्यानाकर्षण पत्र बुझाएका थिए । ध्यानाकर्षण पत्रमा नेपाल भारतको स्थानीय स्तरमा भएको २१ बुँदे सहमतिको पुर्ण पालना नभएको बुँदामध्य केही बुँदा तत्काल पालना गराउन लगाउने बारे उल्लेख गरिएको पनि संघर्ष समितिले जानकारी दिएको छ ।