‘ससुरा-बुहारीको सम्बन्ध’बारे समाचार बनाउने पत्रकार राई पक्राउ परेपछि…

‘ससुरा-बुहारीको सम्बन्ध’बारे समाचार बनाउने पत्रकार राई पक्राउ परेपछि…


  • तस्बिर गजेन्द्र राइको फेसबुकबाट

रेडियो नेपाल उदयपुरका सम्वादाता पक्राउ परेको सन्दर्भप्रति पत्रकार संघ संस्थाको आपत्ति

रेडियो नेपालका उदयपुर संवाददाता गजेन्द्र राईलाई पक्राउ गरेको घट्नाप्रति नेपाल पत्रकार महासंघ उदयपुर, नेपाल फोटो पत्रकार महासंघ र नेपाल आदिवासी जनजाति महासंघले आपत्ती जनाएका छन् । विद्युतीय कारोबार ऐनविरुद्ध अपराध आरोपमा रिपोर्टिङ गरी रहेकै बेला राईलाई पक्राउ गरेको प्रति छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी आपत्ती जनाएका हुन् ।

पत्रकार महासंघ उदयपुरका पूर्व सहसचिव, फोटो पत्रकार महासंघका निवर्तमान अध्यक्ष, प्रेस सेन्टर नेपाल १ नं. प्रदेश कमिटी सचिव तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रीय सदस्य समेत रहेका राईलाई प्रहरीले मत गणनाको रिपोर्टिङ गरिरहेको समयमा अमानवीय तरिकाले पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।

समाचार लेखेको विषयलाई लिएर पत्रकारमाथि साइबर क्राईम मुद्धा पर्नु सम्पूर्ण प्रेस जगतका लागि दु:खद कुरा रहेको र यसले प्रेस स्वतन्त्रतालाई कुण्ठित गरेको महासंघको विज्ञप्तीमा उल्लेख छ । समाजमा घटेका सहि सत्य कुरा र गलत प्रबृत्तिको उजागर गर्ने काम गर्दा यसरी प्रेस जगत माथि आक्रमण गर्नेहरु प्रति सचेत हुनुपर्ने महासंघका सचिव विश्वराज तामाङले जारी गरेको विज्ञप्तीमा भनिएको छ । त्यस्तै, फोटो पत्रकार महासंघका सचिव लक्ष्मी पोखरेल र फोनिज सचिव बुद्धि चामलिङकले छुट्टाछ्ट्टै विज्ञप्ति जारी गरि यस्तो कार्यको निन्दा र भत्सर्ना गरेको छ ।

राई आफैले सञ्चालन गरेको निगरानी पोष्ट डटकमको आधिकारिक युट्युव च्यानलमा नातामा काका ससुरा र बुहारी रहेका महिला र पुरुषबीचको सम्बन्धबारे भिडियो समाचार प्रकाशन गरेकोमा राईलाई परेको जनाइएको छ । राज्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको अवस्थामा राई माथि परेको साईवर अपराधविरुद्ध मुद्धा र प्रहरीले गरेको अमानवीय व्यवहार प्रति घोर आपत्ती प्रकट गर्दै आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउन विज्ञप्तिमा भनिएको छ ।

साथै समाचार लेखेको विषयलाई लिएर मुद्धा परेकाले यसको छिनोफानो गर्ने जिम्मा अर्द्धन्यायिक संस्था प्रेस काउन्सिल नेपाललाई दिन पनि महासंघले माग गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेनद्रप्रसाद फुयालले भने प्रधान कार्यालय साइबर क्राइम ब्युरो र काठमाडौं जिल्ला अदालतको पक्राउ आदेशका आधारमा राईलाई नियन्त्रणमा लिइएको बताएका छन् । साइबर क्राईम व्युरो र काठमाडौं जिल्ला अदालतले राईलाई पक्राउ गरि तत्काल उपस्थित गराउन आदेश आएकाले कानुनी प्रक्रिया पूरा गरि पत्रकार राईलाई काठमाडौं पठाइएको जानकारी दिए ।