चुनावी परिणामपछिको आँकलन

चुनावी परिणामपछिको आँकलन


जसले जिते पनि र काम राम्रो नै गरे पनि अहिलेको मानसिकताबाट हामी केही तङ्ग्रिने मात्र हो, देश र समाजले सुख पाउने होइन । जनताले सुख पाउन त देशको राजश्वको ४० प्रतिशत भन्दा बढी प्रशासनिक खर्च हुनु हुँदैन । यहाँ त साधारण खर्च नै राजश्वभन्दा ज्यादा छ । त्यसमा सुधार गर्नको लागि निर्मम प्रयास हुनुपर्छ र, जनताको ब्यापक साथ चाहिन्छ ।
  • दामोदर पौडेल

सत्ताधारी राजनैतिक दलहरूको अकर्मण्यताको कारणले माओवादीले नयाँ आश्वासन दियो, धम्क्यायो, त्रास देखायो अनि ‘टेक्निक’ प्रयोग गरेर क्रमश: देशको लगभग ९५ प्रतिशत भूभाग कब्जा गरेको थियो । प्रत्यक्ष देख्दा माओवादीको कारण देशले ठुलो क्षति ब्यहोर्नुपरेको हो । तर त्यसको जग नेपाली काङ्ग्रेस र एमालेको अकर्मण्यता र सत्तालाई भ्रष्टाचारको साधन अनि आफन्त भर्तिकेन्द्रको माध्यम बनाउनुमै थियो । माओवादीलाई ती ज्यादतिको दोष दिन सकिएला, तर के त्यतिबेलाका सरकारहरूले राम्रो गरेको भए जनता माओवादीको साथमा रहने वातावरण बन्थ्यो होला र ? जनता माओवादीको ‘डर’ र ‘आशा’को कारणले पनि माओवादीको पक्षमा देखिएका हुन् भन्ने प्रशस्त आधार पनि त थिए ।

तथापि, २०४७ सालको चुनावपछि लोकतन्त्रको माध्यमबाट भएको कार्यको परिणामको मुल्याङ्कन गर्ने बेला भइसकेको थिएन । राजा ज्ञानेन्द्रको माओवादीसँग रहेको माओवादीको रणनीतिक तालमेल मात्र होइन राजा वीरेन्द्रलाई पनि माओवादीले भ्रम दिएको भन्ने पनि सुनिएको हो । भारतको त्यतिबेलाको सत्तापक्ष काङ्ग्रेसले माओवादीलाई सैन्यतालिम दिएको भन्ने प्रमाणित भएको पनि हो । गान्धी परिवारलाई पशुपति दर्शन गर्नसमेत नदिएबाट राजाले हिन्दु धर्मको नाममा हिन्दु धर्मलाई अरु धर्म मान्नेहरू हिन्दुमा परिवर्तन भएर पशुपतिनाथ दर्शन गर्न आउँदा रोके । यो हिन्दु धर्मप्रति नै ठुलो बज्रपात थियो । त्यस्ता कार्यहरू राजसंस्थाबाट हुनु दुर्भाग्यपूर्ण थियो ।

भारतमा काङ्ग्रेस क्रमश: कमजोर हुँदै जाँदा भारतीय संस्थापन पक्ष बदलिएकोले नेपालप्रतिको हेराइ फरक भयो । तिनै परिवेशसमेतले राजनीतिको मुलधारमा आयो माओवादी । राजनीतिको मुलधारमा माओवादीको पुन: प्रवेशपछि देशको राजनीति फोहोर मात्र हैन अझै ज्यादा फोहोर भयो । देशले माओवादी हिंसात्मक गतिविधि जस्तै गलतको विकल्पमा गलत बाटो पक्रिने सम्भावना पो हुन्छ कि भन्ने आशंका थियो । तर अहिले बन्दुकको सट्टा रवि लामिछाने र राजेन्द्र लिङ्देनले जनतलाई शान्तिपूर्ण विकल्पको आश्वासन वा सन्देश दिन सकेका छन् । यो उचित समयको उचित विकल्प हो । जनताले शान्तिपूर्ण रूपमा स्थापित पहिलादेखिका राजानीतिक पक्षहरूलाई लगभग साङ्केतिक र आंशिक रूपमा अस्विकार गरिदिएका छन् । २०५१ सालमा आफ्नो बहुमत धान्न नसक्ने काङ्ग्रेस र २०७४ सालमा आफ्नो बहुमत जोगाउन नसक्ने कम्युनिष्ट पार्टीको कारणले बहुमत र स्थिर सरकारको सपना बोक्न आवश्यक छैन भन्ने प्रमाणित भएको छ । मतदाताले पनि स्वस्तिक चिन्हबाट नै बहुमत आवश्यक छैन भन्ने देखाइदिए । अझै मतदातालाई स्यालुट गर्नुपर्ने मुख्य कारण त वर्तमान राजनैतिक प्रणाली ठिक छैन भनेर बन्दुकको पसल थापेकाहरूलाई पनि घण्टी र हलोमा मत दिएर उनीहरूले देखाइदिएका छन् । अब हलो र घण्टीहरूले पनि संसारभरका राजनीतिज्ञ उस्तै हुन् भन्ने प्रमाणित नगरुन् । नेपालका साह्रै ठुला न्यायक्षेत्रका मुखियाले भनेका थिए- ‘समाज नै भ्रष्टिकरणको दलदलमा परेपछि त्यस समाजबाट आउने न्यायाधीशाट पनि राम्रो आशा गर्न सकिँदैन ।’ वास्तवमा नेता र नेताहरूले छानेका न्यायाधीशहरू, अख्तियार, निर्वाचन आयोग आदिका हाकिम पनि त त्यही देशका समाजका ऐना नै त हुन् !

त्यसोभए इमान्दार नेताहरू चीन, जापान, अमेरिकाबाट ल्याउने त ? त्यसको उत्तर रवि लामिछाने, राजेन्द्र लिङ्देनहरूले दिन सक्नुपर्छ । अन्यथा निराशा, धार्मिक आतङ्क, बन्दुककोे आतङ्क या चरम अराजकताको स्थिति आउन सक्छ ।

रवि लामिछाने र गगन थापा मिलेका रहेछन्, लामिछानेले थापा उठेको ठाउँमा उम्मेदवार नै उठाएनन् भन्ने आरोप पनि लागेको छ । वास्तवमा रवि लामिछाने र गगन थापाको सम्झौता रहेछ र, रविले भनेजस्तो गगन प्रधानमन्त्रीमा उठेमा सहयोग गर्ने हो भने उनको गगनसँगको गोप्य सम्झौता अनि त्यसको परिणाम राम्रो मान्नुपर्ने हुन्छ । प्रचण्डले पनि प्रधानमन्त्री कसलाई बनाउने हो त्यो काङ्ग्रेसले निर्णय गर्ने हो भनेर एउटा परिपक्व राजनीतिज्ञ भएको सङ्केत गरेका छन् । काङ्ग्रेसबाहिरकाले युवापुस्तालाई प्रधानमन्त्री दिएमा सहयोग गर्न तयार हुने भनेको या इमान्दार युवा नेताको माध्यमबाट काङ्ग्रेस सुध्रने हो वा अझै पदको लागि जे पनि गर्नेलाई बुझाएर काङ्ग्रेस को धरातल पुर्णत: कमजोर बनाउने असर र चुनौती दुवै हो । रवि लामिछानेको भनाइ काङ्ग्रेसको लागि सकारात्मक रूपमा आत्मसमीक्षा गर्ने सुअवसर हो ।

केपी ओलीको पार्टीको बारेमा अरु केही बोलिरहन पर्ने अवस्था छैन । सबै ठुला भनिने अन्य दलहरू लाग्दा पनि देशको सबैभन्दा ठुलो दलको रूपमा उनले एमालेलाई स्थापित गरे । गठबन्धन बाहेकका रवि लामिछाने जस्ताले पनि गठवन्धनले सुपात्र छानेमा सहयोग गर्ने बताउँदै गर्दा एमाले देशको ठुलो दल र सबैभन्दा ज्यादा जनताले पत्याएको दलको हैसियतले पनि सरकारबाहिर बस्न तयार छ भन्ने देखिएको छ । सरकारमा एमालेलाई जानबाट रोक्नको लागि नै गठबन्धन गर्नेहरूले नै आफ्नो निहित स्वार्थको कारण सरकार चलाउन सकेनन् भने एमालेले स्थिर सरकार दिन सक्छ भन्नेसम्म अनुभूति उनीहरूले दिने हो ।

पश्चिमी दुनियाँमा चलेको कथाअनुसार पेन्डुराको बाकसबाट निस्केका सबै बस्तु नराम्रो र दुष्ट रहेछन् । आशाचाहिँ त्यहाँ रहेकामध्ये सन्तोष मान्न सहयोग गर्ने प्राणी रहेछ । त्यस्तै गरेर लोकतन्त्रमा आशा पनि हुनुपर्छ । दुई ठुला दलहरू मिलेर आतङ्क मच्चाएपछि आश पनि मर्छ । त्यो सबैभन्दा पीडा र विस्फोटक अवस्था हुन्छ ।

गठबन्धनको लोभको गाँठोको रूपमा रहेको प्रधानमन्त्रीको पद र अन्य भागबण्डाको विवादको कारणले नेकपा एमालेले सरकार बनाउनको लागि पहल गर्ने वातावरण बनेमा केपी ओलीले उल्लेख गरेजस्तो रवि लामिछाने नै देशको प्रधानमन्त्री बन्ने वातावरण बनेमा पनि एमालेले पाएका मन्त्रालयहरूमा परम्परागत रोग लाग्ने सम्भावना हुन्छ । रवि आफूले भने आफ्ना भागमा परेका मन्त्रालयहरूमा राम्रो डेलिभरी दिन सके भने पनि अहिलेको चरम निराशाको अवस्था छिन्नभिन्न वा सिथिल हुनेछ । जनता केही समय अल्मलिने छन् । त्यो अल्मलिने अवस्थालाई अर्को चुनावमा वैकल्पिक शक्तिलाई आगाडि बढ्ने वातावरणको रूपमा लिन सक्नुपर्ने हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा जस्ता दलहरूबाट जनताले धेरै आशा गरेका छन् । अझै भन्दा रवि लामिछाने र राजेन्द्र लिङ्देन तथा ज्ञानेन्द्र शाही जस्ताको हैसियत र डेलिभरी आउँदो चुनाव निर्णायक बन्न सक्छ ।

अहिलेको प्रणाली सभ्य प्रकारको ब्यवहारको सदैव अपेक्षा राख्ने ताकतवर प्रणाली हो । यसको सदुपयोगबाट देशलाई सही बाटो दिन सकिन्छ । यो प्रणाली विश्वका कुनै पनि प्रभावकारी प्रणालीहरू रहेका नेपालका सहयोगी देशहरूको लागि यो सहयोग गर्नको लागि अन्यथा सोच्ने अवस्था नहुनु यसको अर्को सकारात्मक पक्ष हो ।

हाम्रो सत्ता जहिले पनि जवानहरूलाई विदेश पठाउने र आफ्नो बहुमत आफै धान्न नसक्ने दलहरूको हातमा रहेको छ । देशमा भ्रष्टाचार ब्याप्त छ । भ्रष्टाचारको अन्त्य नै भए पनि हामीले जनतालाई डेलिभरी दिने राजश्व हामीसँग छैन । हाम्रा सबै खर्च र विकासका खर्चहरू विदेशी सहयोग र ऋणमा चलेका छन् । यो अवस्थालाई रोक्नु भ्रष्टाचारप्रति निर्मम बनेपछिको दोश्रो चरण हो । कमसेकम साधारण खर्च विदेशीको भरमा चल्नु हुँदैन ।

काङ्ग्रेसमा पुरानाले नै जितेमा काङ्ग्रेस अझै कमजोर हुन्छ भन्ने देखिने र नयाँले जितेर काङ्ग्रेसमा पकड बनाउन सकेमा काङ्ग्रेस ब्रम्हनाल वा भेन्टिलेटरबाट बाहिर आउन सक्ने धेरैले औंल्याएको पाइन्छ । त्यो अरुबाट होइन बरु युवा नेताहरूको साहस र वृद्ध नेताहरूको आफैलाई चाहिने बानीमा सुधार नआएसम्म सम्भव देखिँदैन । माओवादी र समाजवादीको राजनैतिक हैसियत अबका दिनमा कमजोर हुँदै जाने देखिन्छ । तर सरकारमा गएर आफ्ना मन्त्रालयमा राम्रो काम गर्न सकेर स्वच्छ छवि बनाउन सकेमा जनता अब चलयमान बनेकोले आफूतर्फ आकर्षित गर्न सकिने सम्भाावना टरेकोे छैन । अन्यथा उनीहरूको हैसियत चित्रबहादुर केसी र नारायणमान बिजुक्छेको जस्तो हुनेछ ।

जसले जिते पनि र काम राम्रो नै गरे पनि अहिलेको मानसिकताबाट हामी केही तङ्ग्रिने मात्र हो, देश र समाजले सुख पाउने होइन । जनताले सुख पाउन त देशको राजश्वको ४० प्रतिशत भन्दा बढी प्रशासनिक खर्च हुनु हुँदैन । यहाँ त साधारण खर्च नै राजश्वभन्दा ज्यादा छ । त्यसमा सुधार गर्नको लागि निर्मम प्रयास हुनुपर्छ र, जनताको ब्यापक साथ चाहिन्छ । राजश्वको प्रयोग उत्पादनमुलक कार्यमा र त्यो कार्य गर्ने हैसियत सकेसम्म धेरैमा बनाउने परिपाटीबाट मात्र नेपालको भविष्य सुन्दर हुन सक्छ । जुन अहिलेको अवस्थामा कोरा कल्पना जस्तो लाग्छ ।

आज एक सरकारी कर्मचारी दुई वर्षमा तलब बढ्ने आशामा रहन्छ । उसले पाएको काम गर्न सक्ने तर नपाएको त्यति नै पढेको अर्को साथीले महिनामा पाँच हजार कमाउनको लागि १२ घण्टा काम गरेर पनि कठिनाइ छ र सरकारी तलब खानेले महिनामा क्रमश: न्युनतम ५० हजार तलब पाउने अवस्था आउँदैछ । यसबाट बाहिर जानको लागि काम सुरु गरेर सकेसम्म धेरैलाई राज्यको सुविधा दिने कार्य हुनुपर्छ । कर्मचारी हैन सबै जनता खुसी र सुखी हुने कार्य गर्नुपर्छ ! अर्कोतर्फ भएका कर्मचारीलाई हटाउन पनि हुन्न । अन्यथा हामी अर्को विद्रोह खप्न तयार हुनुपर्छ वा विद्रोह रोक्न र रगतको खोलो बगाउन बन्दुक र गोली किन्न तयार हुनुपर्छ । दोष नेताहरूले पाएका छन् तर ज्यादा गल्ती स्थायी सरकारको कमजोरी र बेइमानी तथा गलत ब्यवस्थापनले भएको छ । त्यसतर्फ कसैको ध्यान पुगी निराकरणको कोशिस होला ?