- सुरेश धामी
बैतडीको पञ्चेश्वर गाउँपालिकामा बुधबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेकी मायाको हत्यामा सशस्त्र प्रहरीका एक जवान संलग्न रहेको आशंका गरिएको छ । केही दिनअघि पञ्चेश्वर घर भएका सशस्त्र प्रहरीका जवानले मायाको मोबाइल खोसेको कुरा जानकारीमा आएकाले उनी शंकाको घेरामा परेको पञ्चेश्वर गाउँपालिका-४ का वडा अध्यक्ष जनकबहादुर चन्दले बताएका छन् । घटनापछि सशस्त्र प्रहरीका ती जवान फरार छन् ।
घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेकी माया लुहार म्यादी प्रहरी भएको खुलेको छ । पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया लुहार भर्खरै सम्पन्न निर्वाचनमा म्यादी प्रहरी भएकी थिइन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना भएकी लुहार सेवावधि सकिएपछि घर फर्किएकी थिइन् ।
मंगलबार घरबाट कपडा सिलाउन भनी भदै नाता पर्ने १५ वर्षीया नेहा लुहारसँग पञ्चेश्वर ३ कुलाउतिर हिँडेकी उनी घर नफर्केपछि खोजी गर्दै जाँदा हत्या गरेको अवस्थामा फेला परेकी थिइन् भने नेहा पनि घाइते अवस्थामा फेला परेकी थिइन् । घाइते नेहाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मायाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीको नेतृत्वमा प्रहरीले घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको छ । प्रहरीले भने घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेकाले अहिले नै केही भन्न सकिने अवस्था नरहेको बताएको छ ।
प्रतिक्रिया