माया हत्याका आरोपित प्रहरी जवान सार्वजनिक

माया हत्याका आरोपित प्रहरी जवान सार्वजनिक


बैतडीको पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी माया लुहारका हत्याआरोपित सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले सोमबार पत्रकार सम्मेलन गरी कोलीलाई सार्वजनिक गरेको हो । कोलीलाई कञ्चनपुर प्रहरीले आइतबार बिहान १० बजे महेन्द्रनगर बसपार्कबाट नियन्त्रणमा लिएको थियो ।

आइतबार राति नै उनलाई बैतडी ल्याइएको प्रहरीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । प्रारम्भिक अनुसन्धानबाट हत्या आरोपित भरतराम कोलीले ११ गते नै मायाको मोबाइल नियन्त्रणमा लिएर आफ्नै घर लगेको र १३ गते मोबाइल लिनका लागि मायालाई शिवनाथ ६ को नेपाल टेलिकमको टावर नजिकै बोलाएको खुलासा भएको प्रहरीले जनाएको छ ।

भरतराम कोली र मायाबीच प्रेम सम्बन्ध रहेको र भरतरामले भेटका क्रममा अन्यलाई पनि प्रेम गरेको लान्छना लगाउँदै आफूसँगै भएको चक्कु प्रहार गरी हत्या गरेको खुलेको प्रहरी नायव उपरीक्षक जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

मायाको हत्या गरिसकेपछि मायासँगै रहेकी नेहाले घटनाबारे अन्यलाई जानकारी गराउने डरले उनले नेहाको पनि हत्या प्रयास गरेर घाँटीमा छुरा प्रहार गरेको प्रहरीले अनुसन्धानबाट खुलेको जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४को परिच्छेद १२ को दफा १७७ (ज्यान मार्ने नियतले काम गर्न नहुने) र परिच्छेद १२ को १८३ (ज्यान मार्ने उद्योग गर्न नहुने) मुद्दा शीर्षकमा सोमबार जिल्ला अदातलाट १० दिनको म्याद थप गरी उनीविरुद्ध अनुसन्धान अघि बढाइएका प्रहरीले जनाएको छ।