सर्वस्वीकार्य पर्व शिवरात्रि

सर्वस्वीकार्य पर्व शिवरात्रि


-ब्रह्माकुमार रामसिंह ऐर
परम्परागत रीतिरिवाजबाट मनाइरहेको हेर्दा र विचार गर्दा शिवरात्रि पर्व हिन्दू धर्मावलम्बी तथा सनातन मतका मानिसको मात्रै महत्त्वको पर्व हो भन्ने लाग्दछ । किनकि शिव नाम हिन्दूहरूका वेद, पुराण, उपनिषद् गीता, महाभारत, रामायण आदि शास्त्रमा बढी प्राथमिकता र उच्च आस्थाका साथ उल्लेख एवम् महिमा पूर्ण रूपमा वर्णन गरिरहेको पाइन्छ । खासगरी वर्षोनी फागुन कृष्ण पक्षको चौधौँ रात्रिको बेला शिवरात्रिलाई धार्मिक तथा परम्परागत रूपमा हिन्दूहरूले नै धुमधाम, श्रद्धा भक्ति र भव्यताका साथ मनाउने गर्छन् । ब्रत बस्ने, जागरण गर्ने, उपासना गर्ने, ध्वनि जलाउनेलगायतका रीतिरिवाज र विधिविधान पनि हिन्दू मतावलम्बीहरूमा बढी व्याप्त भएको देखिन्छ । यी प्रचलित अवस्था र मान्यताको अध्ययनले साधारणतया उल्लेखित तथ्य नै प्रस्ट हुन आउँछ । तर, समग्र प्राचीन शास्त्र पुराण, अति प्राचीन सभ्यता र संस्कृति सबै मूल धर्म आदिले प्रकाश पारेको गहन मान्यता र पुष्ट्याउनलाई आत्मसात् गर्ने हो भने यो पर्व सर्वाधिक महत्त्व तथा सम्पूर्ण मानव जातिको नै आस्था, श्रद्धा र मान्यताको पर्वका रूप सत्य सिद्ध हुन पुग्दछ । यस पर्वको सर्वोपरि सत्ता शिव परमात्मा कुनै एक जाति, धर्म र रङ्ग, लिङ्गको मात्रै कुनको नभई समस्त प्राणी जगत्को नै पालनहार तथा तारनहार हो भन्ने कटु सत्यलाई नकार्न सकिँदैन । निष्पक्ष रूपमा सत्यलाई स्वीकार गर्ने शुद्ध सकारात्मक मनोभावबाट हेर्ने हो भने शिवरात्रि पर्व सबैका लागि उत्तिकै महत्त्व तथा श्रद्धाको पर्व हो भन्नुमा अतिसयुक्ति नहोला ।
शिवरात्रि सर्वज्ञ, सर्वोपरि, सर्वोच्च परम्ज्योर्तिमय स्वरूप परमात्मा शिव कल्याणकारीले यस धरतीमा साकार प्रजापिता ब्रह्माको मानवी कायामा दिव्य प्रवेश भई महान् कर्तव्य गरेको यादगार पर्व हो । किनकि परमात्माको जन्म हामी मनुष्यको जस्तो आमाको गर्भमा प्रवेश गरेर नभईकन ब्रह्माको भाग्यशाली रथमा प्रवेश गरेर हुने गर्दछ । पूर्वीय दर्शनका सबै साहित्य, कथा, पुराण आदिमा शिव ज्योतिर्मयको सर्वश्रेष्ठ स्थान रहेको पाइन्छ । शिव परमात्माको वर्णन सबै सभ्यता र संस्कृतिका धुरीका रूपमा पाइन्छ । प्राचीन इतिहास कथा तथा भाषाको आरम्भसमेत शिवबाट भएको उल्लेख छ । पुराणमा उल्लेख भएअनुसार जब संसारको महाविनास भयो त्यसबखत पृथ्वीको ठूलो हिस्सा जलमग्न अवस्थामा थियो । त्यसबेला अण्डाकार प्रकाश (शिव) प्रकट हुनुभयो । त्यसको यथार्थतालाई थाहा पाउन ब्रह्माजी गम्भीर भएर लाग्नुभयो । अन्तमा त्यस ज्योतिले आदेश गर्‍यो ब्रह्मा अब तिमीलाई नयाँ सृष्टिको स्थापनाका लागि निमित्त बन्नुपर्दछ । यस्तै प्रकारको उल्लेख मनुस्मृतिमा पनि छ । सृष्टिको आरम्भमा एक अद्भूत अण्डाकार ज्योति प्रकट भयो जो अत्यन्तै तेजस्वी र प्रकाशमान थियो । यजुर्वेदका कतिपय शब्दमा पनि वर्णन छ कि सृष्टिको रचना गर्न विद्युत् पुरुष (ज्योर्तिलिङ्गम्) प्रकट हुनुभएको थियो ।
सम्राट विक्रमादित्य, राजा भतृहरि सबैले शिवलाई भक्तिको केन्द्र बिन्दु बनाएका थिए । कालिदासको मेघदूतमा शिवको नै महिमा छ भने प्रसिद्ध गायक तानसेनसमेत शिव भक्ति अर्थात् शिवलाई आफ्नो आराध्य देवका रूपमा मान्दथे । जान्नुपर्ने र नोट गर्नुपर्ने महत्त्वपूर्ण पक्ष के भने ती सबैले शिवको स्वरूपलाई प्रकाशमय नै वर्णन गरेका छन् । वाल्मीकि रामायणमा होस् वा महाभारत ग्रन्थमा होस् शिव परमात्मालाई आराधना र उपासनाको केन्द्रबिन्दुका रूपमा स्वीकार गरिएको छ ।
हिन्दू तथा सनातन मान्यताभन्दा भिन्दै आस्था र विश्वास गर्ने मुख्य अन्य धर्ममा समेत कुनै न कुनै रूपमा शिव ज्योतिर्मयलाई नै आफ्नो परमेश्वरका रूपमा लिएको पाइन्छ । उहाँहरूलाई पनि ज्योतिर्मय परमात्म सत्ताको साक्षात्कार भएको कथन पाइन्छ । हजरत मसासँग त्यस अलौकिक शिखाले प्रत्यक्ष वार्ता गरेको तथा आफूलाई जोहेवा परमेश्वर भएकोसमेत बताएको यहुदीहरूको विश्वास छ । इजरायल देशमा वेलफेगो अर्थात् वाले नामको शिव प्रतिमालाई ढोग्ने तथा त्यसलाई साक्षी राखी कसम खाने चलनसमेत छ । त्यसैको ठीक मिल्दो नाम भारतमा वालेश्वर नामले शिवलिङ्गको पूजा-अर्चना गरिन्छ ।
त्यसैगरी इस्लाम अर्थात् मुसलामान धर्ममा समेत शिवरात्रि जस्तै शबेरात वा शविवरातलाई धुमधामसँग प्रत्येक वर्ष श्रद्धापूर्वक मनाउने चलन छ । शोधकर्ताहरूको तर्क छ कि शविवरात शिवरात्रिको नै अपभ्रंश हो । मुसलमानको पवित्र तीर्थ मक्का ?अरबस्थित) मा संगे-असवत नामको शिवलिङ्गको आकारको चिह्नलाई नमन गरिने तथा त्यसको सातपटक परिक्रमा गर्ने चलन छ । भारतमा मकेश्वर नामको शिवलिङ्गगको पूजा गरिने गर्दछ । पवित्र ग्रन्थ कुरानमा अल्लाहलाई नूर ज्योतिका रूपमा नै स्वीकार गरिएको छ । प्रसिद्ध इतिहासकार कर्नाल टाँट र हट्टनका शोधकार्यबाट सिद्ध भएको छ कि अरबको सबभन्दा प्राचीन सहरको नाम नै शिवम् थियो । पछि शिव शव हुन पुग्यो अर्थात् अधर्मको हिलोमा तीर भास्सिन पुग्यो । बेबोलियन सभ्यतामा शिवलिङ्गलाई सिउन नामले पुकारिन्छ । मिश्रको सभ्यतामा, चिनी सभ्यता तथा वर्मा आदि देशमा पनि शिव प्रतिमाको नै गायन र मान्यता छ । अत: संसारभरिका प्राचीन सहरमा चाहे अमेरिकाको टेन्सी सहर होस् या दक्षिण अमेरिकाको सुरिनाममा वा जापानको आइसिस नगरमा अथवा इरानजस्ता देशदेखि युरोपका अन्य देशमा समेत इतिहासकालमा शिव प्रतिमा पूजन र गायनको केन्द्रबिन्दु मात्रै नभएर म्युजियमहरूमा समेत राखेको पाइन्छ ।
उपरोक्त सम्पूर्ण तथ्य तथा आँकडाबाट के सिद्ध हुन्छ भने मुख्य धर्मका धर्मपिता र पीर पैगम्बरले समेत परमात्माको स्वरूपबारे जुन सन्देश दिएका छन् त्यसमा ज्योतिर्मय स्वरूपको नै उल्लेख गरिएको छ । प्रत्येकका अंगुली परमात्मातिर जाँदा उहाँ प्रकाशमय ज्योतिर्मय नै हुनुहुन्छ भन्ने सङ्केत हुन्छ । संसारभरि प्राप्त शिवलिङ्गको प्रतिमाले त्यही स्वरूपलाई पुष्टि गर्दछ । भगवान् कुनै भौतिक शरीरधारी नभएर एक शाश्वत स्वरूप हुनुहुन्छ ।
शिवरात्रि पर्वको महत्त्वलाई अझ प्रभावकारी र कल्याणकारी बनाउनका लागि सम्पूर्ण मानव जगत्लाई यस सत्यको बोध हुनुपर्दछ कि यो पर्व हामी सबै मनुष्य आत्माका पारलौकिक पिता परमात्मा शिवज्योर्तिबिन्दुले दिव्य आवतरण लिई समस्त जगत्लाई अज्ञानताको अन्धकारबाट मुक्त गर्नुभएको यादगार दिवस हो । जतिखेर समस्त जगत् विकारको वशीभूत भई त्राहीमाम थियो, मानिसले मानिससँग गर्ने आसुरी व्यवहार र दानवी कुकृत्यबाट पीडित थियो । त्यस अज्ञानको घारेरात्रिमा नै आएर मुक्तेश्वर, पापकटेश्वर, सर्व दु:ख हरेश्वर, ओमकारेश्वर परमात्मा शिव भगवान् पशुपतिनाथले ज्ञानका सत्य प्रकाशबाट सबैको अज्ञान अन्धकार मिटाई कल्याण गर्नुभएको थियो । धर्म, जाति, लिङ्ग, रङ्ग अनेक प्रकारका मतभेदबाट विभक्त मानव समाजलाई आत्मचेतनाको ज्ञान दिई सबैलाई ईश्वरका सन्तान हामी भाइ-भाइ हौँ भन्ने साक्षात्कार गराउनुभएको थियो । त्यही महान् कर्तव्यको यादगार पर्व शिवरात्रि पछि रीतिरिवाजका रूपमा मनाउने प्रचलन हुन गयो । पुन: वर्तमान अज्ञानको घोर रात्रिको बेलामा परमात्मा शिवले नन्दी अर्थात् वृद्ध मानव प्रजापिता ब्रह्माको साकार शरीरमा प्रविष्ट भई संसारको पापाचार, अन्याय र अत्याचारको अन्त तथा श्रेष्ठाचार, सदाचार र पवित्र सृष्टिको स्थापनाको कार्य गरिरहनुभएको छ । मानव प्राणीलाई आफ्ना मनोविकारलाई सफा गर्ने तथा दैवी गुण धारण गरी विश्वबन्धुत्वको स्नेह र सम्बन्धमा गाँसिने बेला आएको छ । यस वर्ष ब्रह्माकुमारी मिसनले आफ्नो ७६औँ शिवजयन्तीलाई एक परमात्मा एक विश्व परिवारको नाराका साथ मनाइरहेको छ । यस चेतनाका साथ शिवरात्रि मनाउनाले यस पर्वको विश्वव्यापी महत्त्व पुन: स्थापित हुनेछ तथा सुख, शान्तिको संसार आउनेछ ।