नेपाल-भारत सीमा सुरक्षा बैठक सम्पन्न, महाकालीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति

नेपाल-भारत सीमा सुरक्षा बैठक सम्पन्न, महाकालीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति


नेपाल-भारत सीमा सुरक्षा बैठक भारत धार्चुलाको एनएच पीसीमा सम्पन्न भएको छ ।

बुधबार भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाँधेको थियो । बैठकले तारजालीसहितको अस्थायी बाँध हटाउने सहमति गरेको उनले बताए ।

यस्तै, भारतले निर्माण गरिरहेको तटबन्धबारे दुवै देशका इन्जिनियरहरूले अनुगमन गर्ने भएका छन् ।

बैठकमा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल दार्चुलाका गणपति डम्मर बिस्ट, प्रहरी प्रमुख तर्कराज पाण्डे, महाकाली नदी नियन्त्रण आयोजनाका निमित्त प्रमुख करण सिंह धामी, भारतको तर्फबाट डीएम रीना जोशी, एसडीएम दिवेश शासनीको उपस्थिति रहेको थियो ।