कतारले निलेका मेरा बन्धुहरू

कतारले निलेका मेरा बन्धुहरू


– डिल्ली अम्माई

टिल्पिलाइरहेका प्रकाश बिन्दुहरू
नभलाई किरणले भर्दै
कुदिरहेछन् आफ्नै रफ्तारमा
कवि पहाडको टुप्पोमा पुगेर
शिरमाथि टिल्पिलाइरहेका
प्रकाशपुञ्जको बथानमा
कतारको श्रम शिविरबाट हराएका
मेरा मान्छे खोजिरहेछ,
हिमालको गुफामा
झिरको उज्यालोको लहर उनेर
रक्तज्योतिको गीत लेख्ने
साँघुरो उकुसमुकुसको मुक्ति खोज्ने
यो कवि,
आज पहाडको चोटिमा पुगेर
गगन ज्योतिर्पुञ्जबीच
कतारका रंगशालाहरूले निलेका
आफ्ना सयौँ बन्धुहरू खोजिरहेछ,
ति फूलजस्ता मेरा बन्धुहरू
ति राज्यले गुन्द्रुकको मोलमा
कतारका बिचौलियाहरूलाई जिम्मा लगाइ
मिठो विषपान गराएर
श्रमदास बनाइ बेचिएका बन्धुहरू
रंगशालाका जगभित्र रगत बनेर
भित्ताहरूमा स्वास बनेर
ढोकाका आकर्षक चित्रहरूमा
पसिनाका बिम्ब बनेर उभिएका छन् ।
दृश्य तल सार्दा,
उनीहरूका आशा मातृभूमिमा
उनीहरूका प्रतीक्षा उनकै घरअगाडि
सत्ताको वर्ग चरित्रलाई गिज्याउँदै
रगत किनबेचका दुषित पात्रहरूलाई
निरासा र असहाय बनेर
श्रापित गरिरहेको मैले देखेँ,
उत्निखेरै,

मैले पहाडको चुचुराबाट
अनगिन्ती ज्योतिहरूको बीच
मेरा भाइहरूका किरणहरू
श्रमको दासताबाट मुक्त भएको पनि देखेँ ।

आकाशबाट दृश्यमाथि सार्दा,
मेरा प्रियजनहरू,
लुटेराहरूको मोहजालमा परेर
धर्तीको चमकभन्दा माथि
गगनमा चम्किरहेको देखेँ,
मेरा लागि,
लुसेलको रंगीन रंगशाला पनि
‘ट्रयाप्ड इन कतार’बाट मुक्त छैन
यस्ता नौ–नौ चिहान
उज्यालो र आक्रोशको वर्षामा
नुनको पानीले पखालिएको छ,
प्यारापिटको पत्रकार दिर्घा
हजारौँ शहीद श्रमिकको आँशुभित्र
खेलपत्रकार ग्रान्ट वाहल
ढलेको छ फेरि,
सूचनाको प्यारापिट
हजारौँ समवेदनाहरूसँगै
खगोलका अनगिन्ती प्रकाशमा
मेरा भाइहरूलाई माया गर्दै
अर्को प्रलयको सूचना दिन
एक पत्रकार
आकाशिएको छ फेरि,
तलमाथि तमासा चलिरहेको छ
मेरा ज्योतिहरू आकाशमा चम्किरहेका छन्
देशले सन्तानहरू बेचिरहेको छ
विश्व रंगशालामा एकत्रित छ
आफ्नो उमेरको आधी भाग कटाएर
खेल पत्रकार ग्रान्टको अमर आत्मा
चिहानबाट बिदा लिएको छ
जियानी इन्फान्टिनो
तिमी यो खेलको सम्राट हौ,
तिमी खेलाडीको मात्र नबनी
मानवताको लागि
मेरा बन्धुहरूको अन्ति स्वासको लागि
विश्वभरिका रंगशाला निर्माणकर्मीहरूको लागि
श्रमजीवी श्रमिकहरूका लागि
आकाशका ताराहरूको नामाकरण गर,
मेरा बन्धुहरूको पनि नाम लेख,
बन्दीगृहका सबै शहीदहरूको नाम लेख,
र सबै पुरस्कारहरूमा
चिहानमा दबिएका रगतको मुल्यलाई सम्झँदै
मेरा बन्धुहरूसँगै
महान शहीद खेल पत्रकार ग्रान्टलाई
प्यारापिटको हलसँगै
सुनौलो जलपभित्र समेत अङ्कित गर !