महानगर दिवसको अवसरमा वत्सलेश्वरी डबलीमा सांस्कृतिक प्रस्तुति

महानगर दिवसको अवसरमा वत्सलेश्वरी डबलीमा सांस्कृतिक प्रस्तुति


काठमाडौं महानगरपालिकाले २८औँ महानगर दिवसका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरी डबलीमा सांस्कृतिक कार्यक्रम गरेको छ ।

महानगरपालिका-८ अन्तर्गत पर्ने पशुपति मन्दिर परिसरको वत्सलेश्वरी डवलीमा भएको कार्यक्रममा विभिन्न बाजागाजासहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सन्ध्या पुस्तकालय, सिर्जनशील युवा क्लबलगायतका क्लबले बाजासहितको नृत्य प्रस्तुत गरेका थिए भने पशुपति क्षेत्रमा प्राचीनकालदेखि विभिन्न चाडपर्वमा प्रदर्शन हुने गरेका सांस्कृतिक झलक देखाइएको थियो ।

सो अवसरमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले विश्वमै सांस्कृतिक शहरका रुपमा परिचित महानगर दिवस सम्पन्न गर्न सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । सांस्कृतिक कार्यक्रम प्रस्तुत भएका बाजासहित नृत्यको आ-आफ्नै महत्व रहेको उहाँले बताउनुभयो । हरेक जात्रा पर्व तथा त्यसलाई प्रस्तुत गर्ने डवलीको संरक्षण सम्वर्द्धनमा काम गरिने प्रतिबद्धता उपप्रमुख डङ्गोलले व्यक्त गर्नुभयो ।

महानगरपालिका-८ का वडाध्यक्ष आशामान सङ्गतले हरेक जात्रा पर्वको महत्वलाई आत्मसात् गर्दै संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । महानगरपालिका मूर्त, अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा लागेको उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेशसभा र महानगरपालिकाका जनप्रतिनिधिको सहभागिता रहेको थियो । उक्त अवसरमा देव खलका प्रमुखलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो ।

महानगर दिवस यही मङ्सिर २९ गते मनाइँदै छ । यस अवसरमा महानगरपालिकाले विभिन्न कार्यक्रम गरिरहेको छ ।