आफ्नै घरमा दम्पति मृत अवस्थामा फेला

आफ्नै घरमा दम्पति मृत अवस्थामा फेला


  • विकास रौनियार, धादिङ

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहाले गाउँमा एक दम्पति मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र उनकी श्रीमती नीरमाया आलेमगर सोमबार बिहान आफ्नै घरमा मृत भेटिएका हुन् ।

उनीहरूलाई स्थानीयले बिहान करिब ८ बजे मृत अवस्थामा फेला पारेका वडा नम्बर ३ का अध्यक्ष कमल आलेमगरले बताए । मृत दम्पति काठ र जस्ताको कच्ची घरमा बस्दै आएका थिए ।

‘विष्णुबहादुरको शव घरबाहिर खाटमा उत्तानो परेको अवस्थामा छ । निधार र दाहिने आँखामाथि चोट लागेको छ । शरीरमा कपडा ओडिराखेको अवस्थामा छ । चोटपटक के छ भन्न सकिन्न,’ वडाध्यक्ष आलेमगरले भने, ‘नीरमायाको शव घरभित्रै देखिएको छ, बाहिरबाट काठको प्वालबाट हेर्दा खुट्टा मात्रै देखिन्छ।’ उनका अनुसार चोट लागेको ठाउँमा रगतका टाटा देखिएको छ।

मृत दम्पतिका एक छोरी र दुई छोरा छन् । छोरा काठमाडौंमा व्यवसाय गर्दै आएका र छोरीको विवाह भइसकेको स्थानीयले बताए ।

घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली जाँदै छ । स्थानीय प्रहरी चौकी सल्यानटारबाट बिहानै प्रहरी घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले बताए । अनुसन्धानपछि मात्रै घटनाबारे वास्तविक कुरा पत्ता लाग्ने डिएसपी खत्रीले बतााए ।