नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने

नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने


नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ । सडक मर्मत सम्भारका लागि आगामी पुस ५ गतेदेखि एक महिनासम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी रोकिने ट्राफिक प्रहरीले जनाएको छ ।

नारायणघाटतर्फबाट छिर्ने यात्रुबाहक सवारी साधनले पन्ध्र किलो बजारदेखि जुगेडीसम्म रोकिनुपर्नेछ भने मालबाहक सवारीसाधनले भतेरी जंगलदेखि रामनगरसम्म रोकिनुपर्नेछ ।

यता काठमाडौंतर्फबाट जाने यात्रुबाहक सवारीसाधन मुग्लिन बजारदेखि मनकामना केबलकार गेटसम्म र पोखराबाट आउने सवारीसाधन बेनीटारदेखि पावरहाउससम्म रोकिनुपर्ने बताइएको छ । काठमाडौंबाट जाने मालबाहक सवारी लेवाटारमा र पोखराबाट आउने सवारी आँबुखैरेनीमा रोकिनुपर्नेछ ।

ती स्थानमा सबै सवारीसाधनलाई दिउँसो ३ बजे मात्र छाडिनेछ । सवारीसाधन रोक्दा वा चलाउँदा लेन अनुशासन पालना गर्न र लामबद्ध भएको अवस्थामा ओभरटेक नगर्नसमेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।