‘घृणाकृषक’हरूलाई नायक र लायक ठान्नेहरूको देश

‘घृणाकृषक’हरूलाई नायक र लायक ठान्नेहरूको देश


हिजोका नेताहरू कृष्णप्रसाद भट्टराई, बीपी कोइराला, गणेशमान सिंह र मनमोहन अधिकारीले मानिसलाई उत्तेजित बनाउने र आफ्नो साध्य पूरा गर्ने नियतले काम गरेका थिएनन् । उनीहरू शालिनतापूर्वक आफ्ना विचार तथ्य र तर्कसहित प्रस्तुत गर्थेे । मानिसलाई भावावेशमा ल्याएर नकारात्मकताको विस्तार गर्ने उद्दण्डता उनीहरूमा कहिल्यै देखिएन । तर अहिलेका नेताहरू माइक समात्नेबित्तिकै अर्काे पक्षमाथि गाली र आक्रोशको वर्षा गर्न थाल्छन् ।

– देवप्रकाश त्रिपाठी

मनोविज्ञानले संवेदना असामान्य रहेको समयमा लिइने निर्णय दिगो, परिपक्व र सही नहुने निष्कर्श निकालेको छ । खुशी भएको, दु:खको अनुभूति गरेको, रिसाएको या उद्दीग्न रहेको जस्ता अवस्थालाई मनोज्ञिानले संवेदना असामान्य रहेको ठहर गरेको छ । सामान्यतया मानिसहरू रिसाएको या दु:खी बनेको अवस्थामा लिइने निर्णय मात्र गलत हुनसक्ने ठान्दछन्, वास्तवमा खुशी या अधिक प्रशन्नता पनि असामान्य संवेदनाकै अवस्था हो । निजी जीवन बिताइरहेका मानिसबाट असामान्य अवस्थामा हुने निर्णयले घर–परिवार, बन्धुजन तथा मित्रजनसम्मलाई असर पुर्‍याउन सक्छ, तर सार्वजनिक जिम्मेवारी या नीति निर्माण तहमा रहेका मानिसले आवेगमा अर्थात् संवेदना असामान्य रहेका बेलामा निर्णय लिन थाले भने त्यसको असर–प्रभावको शिकार सिङ्गै मुलुकले बन्नुपर्ने हुन्छ । नेपालले दशकौँदेखि यस्तै नियतिको सामना गर्दै आएको छ ।

आफू या आफूहरूलाई सही सावित गर्नभन्दा अरुलाई खराब या गलत शिद्ध गर्न बल लगाउने र, अरु गलत भएको पुष्टि हुँदा आफू सही भएको स्वत: प्रमाणित हुनसक्छ भन्ने भ्रमपूर्ण विश्वास नेपाली समाजमा ब्याप्त रहेको छ । वि.सं. २००७ सम्म नेपालमा जहानीयाँ शासन थियो, बहुदलीय-संसदीय व्यवस्थालाई प्रजातन्त्र ठान्नेहरूले राणा शासनको विरोध र आलोचना गरे, त्यसलाई नाजायज ठानिएन । त्यसपछिका दश वर्ष एउटा पक्षले अर्को पक्षलाई आलोचना गर्ने र आफूलाई सही सावित गर्ने होडबाजीमै बित्यो । पञ्चायत कालमा शासक भूमिकामा रहेका मानिस जति सबै खराब हुन्छन् भन्ने मानक स्थापित गरियो र, त्यससँगै आफूलाई सही प्रमाणित गर्न बाँकी सबैलाई आलोचना गर्ने संस्कृतिको विकास भयो, त्यो अन्तत: संस्कार बन्न पुग्यो । निर्दलीय पञ्चायतको विकल्पमा बहुदलीय संसदीय व्यवस्था खोज्नेहरू तीन दशकको निरन्तर सङ्घर्ष र षडयन्त्रपश्चात व्यवस्था बदल्न सफल भए, तर संस्कार बदल्नेतर्फ उनीहरूको ध्यान गएन । सत्तामा रहेकाहरूलाई ‘सत्रु’ ठान्ने र, आफूलाई सही शिद्ध गर्न अर्को पक्षलाई गाली गर्ने र गाली मात्र गरिरहने संस्कार बदल्ने प्रयास नहुँदा परिवर्तनका निम्ति दु:ख र कठिन सङ्घर्षको पृष्ठभूमिबाट गुज्रिएका मानिससमेत रातारात अयोग्य र गलत ‘प्रमाणित’ भए । दलीय प्रजातन्त्रलाई सबै देशबासीको साझा व्यवस्था बनाउन नेतृत्वले कहिल्यै खोजेन या सकेन ।

विगतमा पिता र नेताले निर्वाह गरेको दायित्वप्रति कृतज्ञता जाहेर गर्दै सम्मानजनक व्यवहार गरियो भने त्यसले नयाँ र सकारात्मक संस्कारको विकास गर्छ र, सम्मानजनक बिदाइप्रति नेताहरूको असहमति पनि नरहन सक्छ । रातारात उम्रिएका, पृष्ठभूमि थाहा नभएका या कुनै सुन्दर पृष्ठभूमि नभएका अनेक आकारप्रकारका ठेट्नाहरू गाली बोलेकै भरमा ताली पाएर आफ्ना निजी महत्वाकाङ्क्षा पूरा गर्न अग्रसर छन् ।

आफ्नो पक्षबाट भएका गल्ती र महागल्तीलाई पनि छोप्ने र, अर्को पक्षको असल कार्यलाई समेत नदेख्ने नयाँ संस्कार र संस्कृति बहुदलीय प्रजातन्त्रले स्थापित गर्‍यो । त्यस्तै, अवसरहरूको हकदार सत्तापक्ष मात्र बन्ने र, सत्ताबाहिरका मानिसले दोस्रो दर्जाको नागरिक मानसिकतामा गुज्रनुपर्ने अवस्थालाई ‘संस्थागत’ बनाउने कार्य पनि प्रजातन्त्रकालमै ‘सम्पन्न’ भएको हो । वि.सं. २०६३ को परिवर्तनले नकारात्मक संस्कृति र संस्कारको विजय गराएको प्रमाणित गर्न सकिन्छ । हुन त नेपालमा प्रजातन्त्र खोज्दा राष्ट्रियता बिर्सिने र राष्ट्रियताको मुद्दा उठाउँदा प्रजातन्त्र छुट्ने प्रवृत्ति धेरै अघि नै विकशित भएको हो । वि.सं. २००७ र २०४६ का परिवर्तनहरू प्रजातन्त्रका नाममा भएका हुन् भने २०१७ सालको परिवर्तनले राष्ट्रियतालाई प्राथमिकतामा राखेको बुझिन्छ । उक्त परिवर्तनपछिका एक दशकभित्र भएका कार्यव्यवहारले राजा महेन्द्रको नेतृत्वमा (२०१७ साल) भएको परिवर्तन राष्ट्रियताकेन्द्रीत रहेको शिद्ध गर्दछ । २०६३ को परिवर्तनले २०१७ को परिवर्तनको ठीक विपरीत धु्रवीय चरित्र दर्शाएको छ । यदि हामीले २०१७ सालको परिवर्तनलाई प्रजातन्त्रविरुद्धको मानेका छौँ भने २०६३ को परिवर्तन नेपाली राष्ट्रियताविरुद्ध लक्षित र केन्द्रीत रहेको वास्तविकतालाई पनि स्वीकार गर्न सक्नुपर्छ ।

वि.सं. २०३३ मा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर भारत निर्वासनबाट फर्कनुभएपछि उहाँद्वारा व्यक्त विचार तथा व्यवहार राष्ट्रियता र प्रजातन्त्र दुवैप्रति लक्षित र सन्तुलित थियो । सत्तामा भएको पक्षप्रति बीपीले सहिष्णु व्यवहार दर्शाउनुभयो, तर शासक पक्षले त्यसबेला सम्भवत: बीपीको कमजोरी ठान्यो । बीपीले राष्ट्रियता र प्रजातन्त्र दुवैको अपरिहार्यताबारे ब्याख्या गर्नुहुँदा उहाँलाई अराष्ट्रिय तत्वको संज्ञा दिँदै फाँसीको माग गर्ने पञ्च र मण्डलेहरू अचेल बीपी विचारको निसङ्कोच महिमामण्डन गर्ने गर्छन् । विचारभन्दा माथि देश र देशभन्दा माथि आफूलाई राख्नेहरू नै अचेल बीपी विचारको सच्चा हिमायती रहेको पुष्टि गर्ने प्रयास गर्दैछन् । पञ्च-मण्डलेहरूले त्यतिबेलै बीपी विचारको सम्मान र आत्मसात गर्न सकेको भए नेपाली राजनीतिले नयाँ मोड लिने निश्चित थियो । त्यस्तो अवस्थामा सकारात्मक राजनीतिको संस्कार र संस्कृतिको जगाधार खडा हुन सम्भव थियो, तर त्यस्तो हुन सकेन । सत्तापक्षले विपक्षीहरूप्रति चरम घृणाको विस्तारमा आफ्नो सफलता देख्यो र, विपक्षीले पनि सत्तापक्षप्रतिको घृणा विस्तारबाट आफूलाई स्थापित गर्ने प्रयास जारी राख्यो ।

प्रजातन्त्र र प्रजातान्त्रिक प्रणालीका विरुद्ध माओवादीले २०५३ सालमा हिंसात्मक सङ्घर्ष शुरु गरेपछि मुलुकमा परस्पर ‘घृणाको राजनीति’ उत्कर्षमा पुग्यो । नकारात्मकतामा आफ्नो भविष्य खोज्ने माओवादी प्रवृत्तिको प्रभाव नेपाली समाजको अन्तरकुन्तरसम्म पुग्यो । जसले अर्को पक्षलाई जति बढी प्रहार गर्न सक्छ उसैलाई नायक र लायक ठान्ने संस्कृति र संस्कारको चपेटमा नेपाली समाज परिसकेको छ । त्यसैले ‘गाली-शिरोमणी’हरूलाई ‘महाराज’ र ‘भगवान्’ बनाउने खहरे अभियानमा एकथरी मानिस लागिपरिरहेका छन् ।

२०६३ को परिवर्तनले २०१७ को परिवर्तनको ठीक विपरीत ध्रुवीय चरित्र दर्शाएको छ । यदि हामीले २०१७ सालको परिवर्तनलाई प्रजातन्त्रविरुद्धको मानेका छौँ भने २०६३ को परिवर्तन नेपाली राष्ट्रियताविरुद्ध लक्षित र केन्द्रीत रहेको वास्तविकतालाई पनि स्वीकार गर्न सक्नुपर्छ ।

पुरानो पुस्तालाई नयाँ पुस्ताले अस्वीकार गर्ने प्रवृत्तिको विकास मानवसृष्टिसँगै भएको ठानिन्छ । पिता हुन् या नेता, पुराना भएपछि असान्दर्भिक र अनुपयोगी ठान्न थालिन्छ । पिता र नेताको जिम्मेवारीलाई महत्वहीन ठान्ने संस्कारको विकासमा भौतिकवाद र देहसुखकेन्द्रीत सोचले मूख्य भूमिका निर्वाह गरेको छ । सबै पिता उत्तिकै योग्य र प्रतिभाशाली नभएजस्तै नेता पनि सबै बराबरी योग्यता र क्षमताका हुँदैनन् । तथापि, एउटा कालखण्डमा आफ्नो योग्यता र क्षमताअनुसारको योगदान दुवैले दिएका हुन्छन् । वृद्ध भएकै कारण पिता र नेतालाई अयोग्य ठहर गरी तिनको मानमर्दन गर्नु भनेको कुसंस्कार र अराजकतालाई प्रोत्साहन गर्नु हो । मानिसको योग्यता, क्षमता, इमानदारी र देशभक्ति मापनको कसी उमेर हुन सक्दैन । वृद्ध मानिसमा प्रजनन क्षमता नहुनुको अर्थ जीवनको बाँकी सबै भूमिकाका निम्ति अयोग्य भएको निष्कर्श निकाल्नु कदापि उचित होइन । विगतमा पिता र नेताले निर्वाह गरेको दायित्वप्रति कृतज्ञता जाहेर गर्दै सम्मानजनक व्यवहार गरियो भने त्यसले नयाँ र सकारात्मक संस्कारको विकास गर्छ र, सम्मानजनक बिदाइप्रति नेताहरूको असहमति पनि नरहन सक्छ । रातारात उम्रिएका, पृष्ठभूमि थाहा नभएका या कुनै सुन्दर पृष्ठभूमि नभएका अनेक आकारप्रकारका ठेट्नाहरू गाली बोलेकै भरमा ताली पाएर आफ्ना निजी महत्वाकाङ्क्षा पूरा गर्न अग्रसर छन् । हो, राजनीतिक नेतृत्वले आफ्नो क्षमता र इमानदारी प्रमाणित गर्न सकेनन् । हिजो राणा, शाह र पञ्च-मण्डलेविरुद्ध यिनले चलाएको शब्दवाणबाट प्रभावित भइ हामीले साथ दिएका थियौँ, धोखा पायौँ, देशको लामो समय बर्बाद भयो । अब पनि गाली गर्ने प्रतिष्पर्धामा अब्बल ठहर भएकाहरूलाई नै योग्य र इमानदार ठान्ने गल्ती दोहोर्‍याउँछौँ भने हामी फेरि पनि देशको समय बर्बादीको बाटोमा छौँ भनेर बुझ्नुपर्ने हुन्छ ।

हिजोका नेताहरू कृष्णप्रसाद भट्टराई, बीपी कोइराला, गणेशमान सिंह र मनमोहन अधिकारीले मानिसलाई उत्तेजित बनाउने र आफ्नो साध्य पूरा गर्ने नियतले काम गरेका थिएनन् । उनीहरू शालिनतापूर्वक आफ्ना विचार तथ्य र तर्कसहित प्रस्तुत गर्थेे । मानिसलाई भावावेशमा ल्याएर नकारात्मकताको विस्तार गर्ने उद्दण्डता उनीहरूमा कहिल्यै देखिएन । तर अहिलेका नेताहरू माइक समात्नेबित्तिकै अर्काे पक्षमाथि गाली र आक्रोशको वर्षा गर्न थाल्छन् । उमेरले सत्तरी आसपासका नेताहरू मञ्चमा तनावमय मुद्रामा देखापर्छन् र, जनतामा तनाव र आक्रोश बढाएर बिदा हुन्छन् । पार्टीको अध्यक्ष, सभापति, उपसभापति, महामन्त्री, सचिव र महासचिव जस्तो गह्रुङ्गो जिम्मेवारी लिएका नेताहरू मदिराको नसामा लठ्ठिएको भक्कुको राँगोको झैँ सधैं हान्ने मुद्रामा देखापर्ने गरेकोले पनि समाजमा आक्रोश, तनाव र नकारात्मकताको विस्तार भएको हो । आममानिस नकारात्मकतामा रमाउँछन् भने नेतृत्वले त्यसको उपचार गर्ने हो, न कि प्रोत्साहन । तर यहाँ अहिलेसम्म प्रकट भएका नयाँ-पुराना नेताहरू आक्रोश र नकारात्मकताको बिस्तारमै तल्लीन छन्, त्यसरी नै उनीहरूले आफ्नो भविष्य खोज्ने गरेका छन् ।

सत्तामा रहेकाहरूलाई ‘सत्रु’ ठान्ने र, आफूलाई सही शिद्ध गर्न अर्को पक्षलाई गाली गर्ने र गाली मात्र गरिरहने संस्कार बदल्ने प्रयास नहुँदा परिवर्तनका निम्ति दु:ख र कठिन सङ्घर्षको पृष्ठभूमिबाट गुज्रिएका मानिससमेत रातारात अयोग्य र गलत ‘प्रमाणित’ भए । दलीय प्रजातन्त्रलाई सबै देशबासीको साझा व्यवस्था बनाउन नेतृत्वले कहिल्यै खोजेन या सकेन ।

देश नबन्नुका अनेक कारण छन् । नकारात्मक, आत्मकेन्द्रीत, भ्रष्ट र कामचोर कर्मचारी प्रशासन, इमानदारी र दूरदर्शिताविहीन राजनीतिक नेतृत्व, मतदाता बन्ने योग्यता नपुगेका मतदाता, बिकाउ बुद्धिजीवी, सतही र नगदमुखी पत्रकारलगायत अनेक पक्षको बेग्लाबेग्लै तथा सामूहिक भूमिका छ देश नबन्नुमा । बर्बादिका निम्ति कुनै एउटा पक्षलाई मात्र सम्पूर्ण रूपले जिम्मेवार ठान्न सकिँदैन । वर्तमान संविधानका केही अन्तरवस्तु पनि शान्ति, स्थायित्व र समृद्धिका बाधक छन् । जातिवादमा आधारित समानुपातिक तथा आरक्षणको अवधारणा, धर्मनिरपेक्षता र प्रदेश संरचना कायम रहेसम्म नेपालले राजनीतिक स्थायित्व प्राप्त गर्न मुस्किल छ । त्यस्तै, ट्रेड युनियनलाई सामूहिक सौदाबाजी (Collective Bargauming) को अधिकार, औद्योगिक प्रतिष्ठानको सञ्चालक समितिमा मजदूरको प्रतिनिधित्व गराउने व्यवस्था, कुनै पनि प्रकारको उद्यम-व्यवशायमा स्थानीयलाई अग्राधिकार तथा अनिवार्य शेयरको प्रावधान र समाजवादमा छलाङ्ग मार्ने जस्ता संवैधानिक प्रावधानले लगानीमैत्री वातावरण बन्न अवरोध पैदा गरेको छ । लगानीबिना अर्थतन्त्र चलायमान हुन नसक्ने र अर्थतन्त्र गतिशील नभइकन मुलुकले समृद्धिको मार्ग तय गर्न नसक्ने यथार्थप्रति आँखा बन्द गर्न सकिँदैन ।

पछिल्लो समयमा विकल्प बन्न खोज्ने केही व्यक्ति र समूहहरू संविधानका यस्ता अवाञ्छित प्रावधानप्रति मौन रहँदै केवल नेता मात्रको परिवर्तनले निकास दिने दुष्प्रचारमा केन्द्रीत छन् । यिनले नेतालाई गाली गर्नुमै आफ्नो योग्यता देखेका छन्, यस किसिमको रोगसँग सचेत रहँदै समयमै उचित विकल्पको खोजी गर्न सकिएन भने नेपाललाई युक्रेन बन्नबाट रोक्न मुस्किल पर्ने हुन्छ । युक्रेनमा पनि नेताहरूप्रतिको ‘फ्रस्टेसन’ले अल्लारे जिलेन्स्कीको जन्म गराएको हो । गाली र ब्यङ्ग्यका उस्ताद जिलेन्स्कीले कलाकारितामा प्राप्त गरेको सफलतालाई युक्रेनी मतदाताले राज्यसत्तासँग साटिदिए । नयाँ र युवा खोज्ने लहडमा युक्रेनका बासिन्दाले अल्लारे जिलेन्स्कीलाई राज्य जिम्मा लगाउनुको परिणाम यतिबेला युक्रेनले भोगिरहेको छ ।

पुरानो र असफल नेतृत्वबाट आजित भएपछि नयाँ र युवाहरूको खोजी हुनु अस्वाभाविक होइन, तर युवा र नयाँ खोज्ने क्रममा विचार पुर्‍याउन नसक्दा देशले सकस ब्यहोर्नुपर्ने हुनसक्छ भन्नेतर्फ पनि सचेतना अपनाउन जरुरी हुन्छ । तत्कालिक सोभियत सङ्घमा पनि पुराना नेताहरूलाई पन्छाएर नयाँ र गतिशील युवा मिखाइल गोर्वाचेवलाई देश जिम्मा लगाइएको थियो । पश्चिमी योजनाअनुसार अघि बढ्दै सोभियत सङ्घ विघटन गराएर अमेरिकी आश्रयमा पुगेपछि मात्र मिखाइल गोर्वाचेवबारे सोभियत देशभक्तहरूले जानकारी पाएका थिए । पश्चिमाहरू आफ्ना सेवकहरूलाई जुरुक्कै उचाल्छन् र आमजनतामा लोकप्रिय बनाउँदै सत्तामा पुर्‍याएर आफ्नो साध्य पूरा गर्छन् । गोर्बाचेवले सोभियत सङ्घ विघटन गराएबापत उनलाई नोवेल शान्ति पुरस्कारद्वारा विभुषित गरिएको थियो । दोस्रो विश्वयुद्धपछि अमेरिकासँग टक्कर लिँदै विश्वमा शक्ति सन्तुलनको एउटा पक्ष बन्न सकेको सोभियत सङ्घ रातारात विश्व मानचित्रबाट बिलिन भयो र, त्यसरी आफ्नो देश विघटन गराएर बैरीराष्ट्रलाई खुशी तुल्याउने युवा नेता मिखाइल गोर्वाचेव सत्रुपक्षबाटै पुरष्कृत भए । नयाँ र युवा खोज्ने नाममा गालीबाजहरूलाई रोज्ने र बिना पृष्ठभूमि र बिना पहिचानका झिल्केहरूलाई देश नै जिम्मा लगाउने तहको आवेग जुन यहाँ पैदा भएको छ, यसले नेपाललाई पनि युक्रेन या सोभियत सङ्घकै नियति भोग्नुपर्ने बाध्यात्मक अवस्थातर्फ सोझ्याउँदै छ । समयमै चेत खुलोस्, शुभकामना । जय मातृभूमि !