महिला हत्यामा संलग्न रहेको आरोपमा सिरहाबाट दुई जना पक्राउ

महिला हत्यामा संलग्न रहेको आरोपमा सिरहाबाट दुई जना पक्राउ


महिला हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

मिर्चैया नगरपालिका २ का ३० वर्षीया लक्ष्मीनियाँ कापरको हत्यामा संलग्न रहेको आरोपमा सोही नगरपालिका १ का २० वर्षीय नितेश कुमार रजक र वडा नम्बर २ मलनियारीका २० वर्षीय राम कुमार महतो कोइरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लुकिछिपी बसेको अवस्थामा प्रहरीले हत्यामा प्रयोग भएको धारिलो हतियारसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले बताए । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय मिर्चैया र मधेस प्रदेश प्रहरीबाट ल्याएको कुकुरको सहयोगमा पक्राउ गरेको जनाएको छ ।

गाउँनजिकै रहेको कर्जन्हा नपा–६ को जङ्गलबाट आगो बाल्न सुकेको पात लिएर आउँदै गर्दा मंगलबार अपराह्न बाटो ढुकेर बसेका दुवै जनाले लक्ष्मीनियाँलाई धारिलो हतियारले पेट र घाँटीमा प्रहार गरेका थिए । पक्राउ परेकाहरुविरुद्ध बुधबार जिल्ला अदालत सिरहामा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।