विश्वकपमा सट्टेबाजी गराएको आरोपमा पक्राउ

विश्वकपमा सट्टेबाजी गराएको आरोपमा पक्राउ


विश्वकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा एक एजेन्ट पक्राउ परेका छन् । ‘बेटिङ एप वान एक्स बेट’ लगायत एपमार्फत सट्टेबाजी गराएको आरोपमा लमजुङ सुन्दरबजार-१ घर भइ हाल काठमाडौं-२ टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

उनलाई प्रहरीले गौलीलाई बुधबार काठमाडौं महानगरपालिका-२८ कमलपोखरीबाट पक्राउ गरेको हो । उनले रकम संकलन र भुक्तानी गरेको आधारमा २५ प्रतिशत कमिसनसमेत पाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

उनले इ सेवा, आईएमई पे, खल्तीबाट मात्रै २ करोड ३६ लाख ३३ हजार १३८ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ । त्यस्तै, २६ वटा अन्य डिजिटल वालेट तथा बैंकिङ प्रणालीमार्फत ७ करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँको कारोबार देखिएको प्रहरीले जनाएको छ ।

योसँगै उनको विभिन्न खाताहरूबाट मात्रै १० करोड ९ लाख २२ हजार १८४ रुपैयाँको कारोबार भएको देखिएको छ । उनले १ वर्षदेखि सट्टेबाजीको काम गर्दै आएको खुलेको छ ।

गौलीविरुद्ध मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्नरगराउन नहुने कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।