२७ लाखबराबरको सुन चोरी आरोपमा महिला पक्राउ

२७ लाखबराबरको सुन चोरी आरोपमा महिला पक्राउ


ठूलो परिमाणमा सुनको गहना चोरी गरेको आरोपमा पोखरा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पोखराबाट २७ लाख रुपैयाँ बराबरको सुनको गहना चोरी आरोपमा प्रहरीले पर्वतको मोदी घर भएकी टीका श्रेष्ठलाई पोखरा महानगरपालिका गणेश टोलबाट पक्राउ गरेको हो ।

ललाइफकाइ गरेर विभिन्न ९ जनाका सुनका गहना चोरी गरेको आरोपमा उनी पक्राउ परेकी परेकी हुन् । पोखराका विभिन्न स्थानका वृद्ध–वृद्धाले लगाएका सुनका गहना तथा घरमा राखिएका सुन उनले चोरी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले पोखरा रानीपौवाका ७८ वर्षीया दुर्गाकुमारी पाध्याको सुनको सिक्री, तिलहरी, झुम्का, पञ्चरत्न बाला, औठी र टप चोरी गरेकी छन् ।

पाटनबेसीका ८३ वर्षीया रिखीमाया सापकोटाको सुनको सिक्री र औँठी, माटेपानीका ७० वर्षीया तिलकुमारी थापाको सुनका बाला २ जोर, गैह्रापाटनका ७९ वर्षीया लक्ष्मी कोइरालाको सुनको सिक्री, उपकार मार्गका ९० वर्षीया शान्तिमाया गुरुङको सुनको सिक्री, फूलबारीका ८७ वर्षीया ठगकुमारी महतका सुनको सोवकी र औँठी, गलेश्वर मार्गका ५४ वर्षीया दुर्गा गिरीको मंगलसुत्र चोरी गरेको प्रहरीले जनाएको छ ।

यस्तै, पोखरा महानगर वडा नम्बर २७ की ६५ वर्षीया मधुमाया पौडेलको मंगलसुत्र, झुम्का, चुरी, औँठी, चन्द्रमा र तिलहरी र मिनलटोलका ८२ वर्षीया डुमादेवी थापाको सुनको बाला चोरी गरेको उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

चोरी तथा डाँका मुद्दामा श्रेष्ठमाथि अनुसन्धान गर्न ५ दिन अदालतबाट म्यादसमेत लिइएको छ ।