ट्राफिक प्रहरीले मङ्सिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमतिपत्र निलम्वनका लागि यातायात व्यवस्था विभाग पठाएको हो ।
कार्यालयका प्रवक्ता, प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पाँच पटकभन्दा बढी सवारी नियम उलङ्घन गरेकाले यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाहीका लागि यातायात व्यवस्था विभाग पठाइएको जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै कारवाही पर्नेमा एक जना ४४ पटक त्यसपछि क्रमश: एक जना ३५ पटक, तीन जना २४ पटक, एक जना १४ पटक, सात जना १२ पटक, दुई जना सात पटक, र ४५ जना ६ पटक पक्राउ परेका सवारी चालक रहेका छन् ।
पक्राउ परेकाले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको प्रवक्ता भट्टले बताए । ट्राफिक नियम उल्लङ्घन गरिरहने चालकबाट नै सवारी दुर्घटना बढी हुने गरेको सो कार्यालयले जनाएको छ ।
प्रतिक्रिया