मोबाइलको लागि वृद्ध दम्पतीको हत्या

मोबाइलको लागि वृद्ध दम्पतीको हत्या


  • विकाश रौनियार, धादिङ

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ३ मूलपानीनिवासी वृद्ध दम्पतीको हत्या गरी फरार रहेका दुइ बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मुलपानीको आहालेगाउँका ७४ वर्षीय विष्णुबहादुर आलेमगर र ६७ वर्षिया निरमाया आलेमगरको हत्या गर्ने स्थानीय दुई बालकलाई जिल्ला प्रहरी कार्यालय धादिङले प्रेस मिट गरी सार्वजनिक गरेको छ ।

पहरीले पक्राउ गरेका स्थानीय दुई बालकहरु परिवर्तित नाम १५ वर्षीय धादिङ २४ (२५५) ०७९/८० र १३ वर्षीय धादिङ २४ (२५९) ०७९/८० रहेका छन् । उनीहरुले वद्ध दम्पती को हत्या गरी मोबाइल चोरी गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक राकेश सिंहले बताए ।

‘ती बालकहरु कुलतमा फसेका रहेछन्’, एसपी सिंहले भने- ‘अल्कोहल पिएको अवस्थामा बालकहरुलाई पक्राउ गरेका थियौँ । जाँडरक्सी खाने गाउँमा अरुलाई धम्काउने क्रियाकलाप गर्दै आएका रहेछन् । फिरफायर खेल खेल्ने ति बालकहरुले खेल खेल्न मोबाइलकै लागि वृद्ध दम्पत्तीको हत्या गरेको खुलेको हो ।’

वृद्ध दम्पतीको गत मंसिर २६ गते सोमबार बिहान घरमै शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्यामबहादुर खत्रीको टोलीसहित केन्द्रिय अनुसन्धान व्यूरोको ३० जनाको टोलीले अनुसन्धान थालेको थियो । घटनास्थलमै बसेर अनुसन्धानमा खटिएका प्रहरी टोलीले स्थानीय दुई बालकलाई शुक्रबार नियन्त्रणमा लिएर थप अनुसन्धानपछि हत्या गरेको पुष्टि भएको एसपी सिंहले बताए ।

वृद्ध दम्पतीलाई बन्चरो प्रयोग गरी हत्या गरेको अनुसन्धानबाट खुलेको हो । चोरी गरेको मोबाइल र वारदातमा प्रयोग गरेको बन्चरो प्रहरीले बरामत गरेको पनि उनले जानकारी दिए ।