खोटाङको केपिलासगढी गाउँपालिका-४ बाक्सिला बजारमा सोमबार साँझ भीषण आगलागी भएको छ ।
जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारस्थित स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगो नियन्त्रणबाहिर रहेको प्रत्यदर्शीहरूलाई उद्धृत गर्दै राससले जनाएको छ ।
आगलागीबाट अहिलेसम्म पाँचवटा घर तथा दर्जनभन्दा बढी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बाक्सिलाले जनाएको छ । प्रहरीका अनुसार दीपक गुरुङ, रमेश परियार, शुभशेर राई र डिल्लीकुमार श्रेष्ठको घर पूर्णरूपमा जलेर नष्ट भएको हो ।
आगलागी नियन्त्रणमा लिन स्थानीय अकबर राईको घर भत्काइएको छ । आगलागी नियन्त्रणमा लिन गाउँपालिकाको जेसिबी प्रयोग गरेर स्थानीय अकबर राईको जल्दै गरेको घर ढालिएको हो । आगलागी हुनुको कारण अहिलेसम्म पत्ता लागेको छैन भने आगलागीबाट लाखौँको क्षति भइसकेको छ ।
आगलागीमा परेका अकबर राईबाहेक अन्य सबैको घरमा पसल तथा होटल सञ्चालनमा रहेको गाउँपालिका उपप्रमुख राईले जानकारी दिएका छन् । दीपकको घरमा स्थानीय रत्ना गुरुङको कपडा पसल, रमेशको घरमा टेलर्स, शुभशेरको घरमा गाउँपालिका प्रमुख समीर राईको स्टेसनरी पसल तथा सोही घरको माथिल्लो तलामा इन्द्रा राईको होटल रहेको जनाइएको छ ।
डिल्लीकुमारको घरमा स्वयं डिल्लीकुमारको कपडा पसल तथा उनका छोरा पवन श्रेष्ठको कपडा र भाँडा पसल रहेको थियो । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङका अनुसार जस्तापाताको छाना तथा ढुङ्गामाटोले बनेको परम्परागत घर भएका कारण आगलागी नियन्त्रणमा लिन समस्या भएको हो । आगलागीमा परेका सबै घर आपसमा जोडिएका र दमकल अभावका कारण ठूलो क्षति भएको छ ।
आगलागी हुनाका कारण अहिलेसम्म पुष्टि हुन बाँकी रहेको र आगलागीमा लाखौँको धनमाल जलेर नष्ट भए पनि अहिलेसम्म मानवीय क्षति भने हुन नपाएको प्रनाउ मुकारुङले जानकारी दिएका छन् ।
प्रतिक्रिया