नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई भारत र चीनको बधाई

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई भारत र चीनको बधाई


नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई नेपालस्थित चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रधानमन्त्रीका रूपमा उनले सोमबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार नेपालस्थित चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाई दिएका हुन् ।

दुवै राजदूतले माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिँदै दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने बताए । चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष प्रचण्डलाई बधाई’ भनिएको छ ।

भारतीय राजदूत श्रीवास्तवले पनि प्रधानमन्त्री प्रचण्डको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउँदै उचाइमा पुर्‍याउने बताएका छन् ।