धनढीबाट नक्कली नोट, बाघको हड्डी र जडीबुटीसहित पाँच जना पक्राउ

धनढीबाट नक्कली नोट, बाघको हड्डी र जडीबुटीसहित पाँच जना पक्राउ


कैलालीमा नक्कली नोट, बाघको हड्डी र जडीबुटीसहित ५ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उप-महानगरपालिका वडा नम्बर ४ बसपार्कबाट उनीहरूलाई एक लाख ४२ हजार नक्कली नोट, बाघको हड्डी र जडीबुटीसहित पक्राउ गरिएको हो ।

धनगढीको साल्ट ट्रेडिङ कर्पोरेसनअगाडि नक्कली मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा तत्काल प्रहरी टोली खटिइ जाँदा जिल्ला कैलाली चुरे गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष ५५ का लालबहादुर साउँदको खानतलासी गर्ने क्रममा उनको साथबाट नक्कली नेपाली दरको नोट ४ थान फेला पारेको हो । उनी नक्कली नोटहरूका सम्बन्धमा सञ्जाल नै रहेको खुल्न गएको कैलाली प्रहरीले जनाएको छ ।

यस्तै, उक्त व्यक्तिहरूको खोज तलास गर्ने क्रममा जिल्ला कैलाली धनगढी उप–महानगरपालिका वडा नम्बर १३ राजपुर स्थित एसएस होटेलमा कोठा गरी बसेका दार्चुला लेकम गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष ३३ को लिलाधार मिश्र, डोटी शिखर नगरपालिका वडा नम्बर १० बस्ने वर्ष ३० को करनसिंह धामी र बडिकेदार गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ५० को मोहनसिंह बोहरा समेतलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा जिल्ला कैलाली धनगढी उप-महानरपालिका वडा नम्बर १३ स्थित कोठा भाडामा लिई बस्ने डोटी शिखर नगरपालिका वडा नम्बर १० बस्ने वर्ष ३० को करनसिंह धामी बस्ने गरेको डेरा कोठाको डोटी शिखरकै १९ वर्षीय टेकेन्द्र धामीलाई समेत पक्राउ परेका छन् ।

धामी बसेको कोठाको पलङ खटियाको सिरानी मुनी लुकाई राखेको अवस्थामा नेपाली रुपैयाँ एक हजार का नोटहरू १३८ (एक लाख अठतिस हजार) गरी जम्मा एक लाख ४२ हजार फेला पारेको छ ।

खानतलासीकै क्रममा सोही खटियाको प्लाइमुनि रहेको बाक्साभित्र जेब्राझोलामा बाघको जस्तो देखिने अस्थिपञ्जर हड्डीहरू ५ किलो ५ सय ३० ग्राम, बैङ्क तथा आईएमई भौचर तथा चेकहरू, प्लास्टिकभित्र लुकाइ राखेका अवस्थामा जडिबुडी वनस्पतिका बोक्राहरू र फलामका टुक्राहरू समेत फेलापारि बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।