नमरी स्वर्ग देखिन्न !

नमरी स्वर्ग देखिन्न !


आकस्मिक तवरमा बदलिएको राजनीतिक माहोलले काङ्ग्रेसभित्रका कैयन लोभीपापीहरूको सपना उजाडिदिएको छ । काङ्ग्रेसको पीडा आफ्नै ठाउँमा रहोस्, खिचातानीको यो खेलले सिङ्गो देशलाई नै सोचनीय अवस्थामा पुर्‍याइदिएको छ ।

विश्वकप फुटबलको रोमाञ्चक प्रतिष्पर्धाको धङधङी बाँकी रहँदै त्यसलाई एकाएक बिर्साइदिने ‘महा-रोमाञ्चक’ खेल आइतबार (१० पौष) देखियो । विश्वकप विशुद्ध खेल प्रतियोगिता थियो, जसले संसारलाई भरपुर मनोरञ्जन दियो भने आइतबारको रोमाञ्चकताचाहिँ नेपाली राजनीतिक वृत्तमा घटित अविश्वसनीय तवरको घटना थियो, जहाँ एकअर्काको नाम सुन्दै नाक चेप्र्‍याउने राजनीतिकर्मीहरू एकाएक गला मिलाइरहेका थिए ।

नाटकीय ढङ्गमा परिवर्तित पछिल्लो राजनीतिक माहोल रोचक देखिँदै छ । गठबन्धनलाई कम्तिमा बीस वर्ष अटुट कायम राख्ने र, मिलेर शासन गरिरहने उद्घोषका साथ अत्यन्त अप्राकृतिक तवरबाट निर्माण गरिएको ‘सत्ता-गठबन्धन’ (निवर्तमान) बीस महिनाको छेउछाउसम्म पनि नपुग्दै तोडिएको छ भने अब कहिल्यै साथ-साथ हुन नसक्ने ठानिएका पात्रद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकाएक बालकोटको बहुचर्चित बार्दलीमा उभिएर हात हल्लाउन पुगेका छन् । नेपाली नेताका हर्कत हेर्दै वाक्क-दिक्क भएका आमनेपालीका लागि यो अवस्था आकस्मिक रूपमा प्राप्त भएको निकै रोमाञ्चक खेलसरह भइदियो । देश र जनतालाई खास केही दिन नसकेको ‘राजनीति’ले क्षणिक नै सही- भरपूर मनोरञ्जन दिलाएको अनुभूति गरियो ।

प्रेम र राजनीतिमा सब कुरा जायज हुन्छ भन्ने प्रचलित भनाइ छ । विश्वप्रसिद्ध यस भनाइसँग सहमत हुँदा त ओली-प्रचण्ड मिलनलाई सामान्य या स्वाभाविक परिघटनाका रूपमा स्वीकार गर्न पनि सकिन्छ, तर राजनीतिको नाममा फगत पद, सत्ता, शक्ति, सम्पत्तिलाई लक्ष्य बनाएर आत्मकेन्द्रित गतिविधि गर्नेहरूले सोही प्रवृत्तिलाई मलजल गरेको भन्ने कोणबाट विश्लेषण गर्नुपर्दा चाहिँ वर्तमान परिप्रेक्ष्यमा एमालेको साथ-सहयोगबाट माओवादी नेतृत्वको सरकार गठन हुनु नेपाली राजनीतिको चरम विकृत स्वरुपको प्रकटीकरण हो ।

सत्तालाई सर्वोपरि ठान्नेहरू सत्ताशक्तिको अभीष्टसिद्धिका निम्ति कतिसम्म छलछाम वा कपट गर्न हिच्किचाउँदैनन्, कतिसम्म निर्लज्ज बन्न सक्छन् भन्ने कुराको ज्वलन्त उपमा हो प्रचण्डको प्रधानमन्त्री पदारोहण । उनको चरम पदाकाङ्क्षालाई आड दिएर एमाले नेतृत्वले पनि नेपालको राजनीतिमा विगत तीन दशकदेखि पन्पिँदै आएको सत्ताप्राप्तिको विकृत संस्कारलाई बढावा दिएको छ । ‘परिस्थितिजन्य कदम’को बर्को ओढाएर ढाकछोप गर्न खोजिए पनि यो सन्दर्भ सुतुरमुर्गले टाउको लुकाएर आफूलाई सुरक्षित ठानेजस्तो मात्रै हो भन्दा अत्युक्ति हुनेछैन ।

राजनीतिमा कोही स्थायी शत्रु तथा स्थायी मित्र नहुन सक्छ र, जतिबेला जे पनि हुन सक्छ भन्ने मान्यता चरितार्थ गर्दै एमाले-माओवादीसहित नितान्त भिन्न चरित्र एवम् अभीष्ट बोकेका सात दलको गठजोडबाट एकतिर नयाँ सरकार गठन हुँदै गर्दा अर्कोतर्फ सर्वश्व हारेको जुवाडेको हालतमा पुगेको काङ्ग्रेसभित्र सघन सन्नाटा छाएको देखियो । त्यसो त नेतृत्वको अकर्मण्यताका साथै अति भरोसा गरिएका आसेपासेहरूको स्वार्थप्रेरित सुझाव-सल्लाह तथा गलत रवैयाका कारण सत्ताको चमकदमकबाट एकाएक केन्द्रदेखि सातै प्रदेशसम्म प्रतिपक्षी भूमिकामा थन्किनुपरेको रन्कोले आपसी आरोप-प्रत्यारोपको हुण्डरीबाट काङ्ग्रेस गुज्रँदैछ, तर अन्तरकलहको उत्कर्षकै बीच पनि सत्ता गुमाएर मर्माहत बनेको काङ्ग्रेस स्तब्ध अनि सन्नाटाको भासमै धसिएको प्रतीत हुन्छ ।

राजनीतिक संस्कारविहीनताले घर गरेको पारिवारिक पात्रका अहङ्कार, दम्भ, हठ, दूराग्रह र मैमत्त स्वभावको शिकार बनेको काङ्ग्रेस शीर्ष नेतृत्व नैतिकताको खडेरीबाट पूरापुर ग्रसित रहेकै कारण पदबाट राजीनामा दिने ‘साहस’ दर्शाउन नसकिरहेको परिप्रेक्ष्यमा सो दलभित्र खास आँधी-हुण्डरी अझ मच्चिन बाँकी नै रहेको लख काट्न सकिन्छ । आपसमा धारे हात लगाएकै भरमा सन्तोष मानेर ‘क्रान्तिकारी काङ्ग्रेसजन’ शान्त होलान् भन्ने यसपटक सोच्न सकिँदैन, किनकि पुस्तान्तरणको कोकोहोलो गर्दै एउटा अभद्र जत्थाले काङ्ग्रेसमा टाउको उठाइसकेको छ ! अकर्मण्यता र अभद्रताको ‘फ्युजन’ले मैहुँ भन्ने काङ्ग्रेसको ‘फ्युज’ नै उडाइदिने सम्भावना प्रवल तुल्याएको महसूस गरिँदै छ ।

पार्टीमा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने र डाँडामाथिको घाम बनिसकेकाहरूले अझै पदीय लालसा दर्शाउँदै पर-निर्देशनमा परिचालित हुन धक नमान्दाको परिणति पनि हो काङ्ग्रेसको आजको अवस्था । आकस्मिक तवरमा बदलिएको राजनीतिक माहोलले काङ्ग्रेसभित्रका कैयन लोभीपापीहरूको सपना उजाडिदिएको छ । काङ्ग्रेसको पीडा आफ्नै ठाउँमा रहोस्, खिचातानीको यो खेलले सिङ्गो देशलाई नै सोचनीय अवस्थामा पुर्‍याइदिएको छ । अझ विष्मयकारी विषय त यो छ कि नागरिक तहको ठूलै हिस्साले नयाँ सरकारमा ‘आशाको किरण’ चम्चमाएको अनुभूति गरिरहेको छ, तर त्यो कथित किरण ‘मधुर न्यानो’ सावित होला या ‘असैह्य ज्वाला’- प्रतीक्षाकै सन्दर्भ बनेको छ । भनिन्छ नि, नमरी स्वर्ग देखिन्न !