काठमाडौंमा ‘मानवताका लागि सङ्गीत’ गुञ्जिँदै

काठमाडौंमा ‘मानवताका लागि सङ्गीत’ गुञ्जिँदै


मानवता प्रवर्द्धनका लागि महिनाव्यापी रूपमा आयोजना गरिएको सङ्गीत यात्राको अन्तिम कार्यक्रम ‘नेपथ्य लाइभ कन्सर्ट’ आज शनिबार काठमाडौैंमा हुँदैछ ।

काठमाडौंको रानीवनस्थित मानवसेवा आश्रममा शुक्रबार आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उक्त कन्सर्टको तयारीबारे जानकारी गराइएको थियो । नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङसँगको चियापान तथा भेटघाट कार्यक्रममा आयोजक मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले अन्य नौ सहरमा भव्यताका साथ सम्पन्न भएको उक्त कार्यक्रमअन्तर्गत शनिबार भृकुटीमण्डपमा हुने अन्तिम कन्सर्टमा मुलुकका विशिष्ट व्यक्तिसहित झण्डै छ हजार दर्शकको उपस्थिति रहने जानकारी दिए । कार्यक्रमको तयारी सकिएको पनि उनले बताए ।

सङ्गीतमार्फत मानवता प्रवर्द्धन गरी सडक आश्रित बेसहारा व्यक्तिहरूलाई सडकको चिसो छिँडी र सडकपेटीमा बस्नुपर्ने अवस्थाको अन्त्यका लागि समाजमा सचेतना जगाउन एकमहिने सङ्गीत अभियान चलाइएको उनले जानकारी दिए ।

समारोहमा नेपथ्य व्याण्डका प्रमुख गायक अमृत गुरुङले आश्रमले जे काम गरिरहेको छ, त्यो काम धेरै मान्छेले गर्न नसक्ने धारणा राखे । उनले धन हुनेसँग भन्दा मन हुनेसँग मानवता रहेको उल्लेख गर्दै काम गर्नेहरूलाई प्रश्न उठ्ने भएकाले कसैले प्रश्न गर्दैमा नहिच्किचाइकन अभियान अघि बढाउन आग्रह गरे ।

समारोहमा आश्रमका संरक्षक तथा समाजसेवी राधिका शाक्यले आश्रमको भवन निर्माणका लागि नागर्जुनमा जग्गा प्राप्त भएकाले छिटोभन्दा छिटो भवन निर्माण सम्पन्न गरी काठमाडौंका सडक आश्रित मानवहरूको व्यवस्थापन अति जरुरी रहेकाले सम्बद्ध निकायको ध्यानाकर्षण गराइन् । उनले रानीवनको भवनमा सुकुम्वासी राख्नुपर्नेमा आश्रम राखिएको भनेर केही आलोचना सुनेको स्मरण गर्दै भनिन्- ‘ती सुकुम्वासी भन्दा पनि यहाँ बस्ने मानिस झन् सुकुम्वासी हुन् जसको कोही छैन, जसको केही छैन, उनीहरू रहेका छन् ।’ स्वच्छ मनले काम गर्दा पनि कतिपय मानिस आ-आफ्नै स्वार्थमा लागेर अनावश्यवक बखेडा निकाल्नु राम्रो नहुने शाक्यको भनाइ थियो ।

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव डा. मानबहादुर विकेले आश्रमले विसं २०८२ सम्ममा सडक आश्रित मानवमुक्त देश बनाउने लक्ष्य लिएकाले त्यो लक्ष्य पूरा भयो भने नेपाल विश्वमै मानवीयताको पहिलो देश हुने बताए । उनले अहिले मानवताका लागि सङ्गीत भनेर जुन सङ्गीत यात्रा भइरहेको छ, यसले सङ्गीतमार्फत मानवता प्रवर्द्धनमा एउटा नयाँ सिद्धान्त निर्माण भएको प्रतिक्रिया दिए ।

महिनाव्यापी उक्त कार्यक्रमको सुरुआत मङ्सिर १६ गते विराटनगरको हाटखोला मैदानबाट भएको थियो । मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशाला, पुस ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ मैदान र १२ गते पोखराको प्रदर्शनी केन्द्रमा कार्यक्रम भएको थियो । अभियानको अन्तिम कार्यक्रमका रूपमा१६ गते शनिबार काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको हो ।