हात्तीको आक्रमणमा पत्नीको मृत्यु, पति घाइते

हात्तीको आक्रमणमा पत्नीको मृत्यु, पति घाइते


झापाको शिवसताक्षी नगरपालिका-११ मा वृद्ध दम्पती जङ्गली हात्तीको आक्रमणमा परेका छन् । जसमध्ये पत्नी ६१ वर्षीया कृष्णमाया भण्डारीको उपचारका क्रममा आइतबार मृत्यु भएको छ भने ७१ वर्षीय पति शान्तिराम भण्डारी गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीका अनुसार आफ्नै घरमा रातिको निन्द्रामा रहेको अवस्थामा शनिबार राति छावा (बच्चा)सहित आएका चारवटा हात्तीले भण्डारीको घरमा आक्रमण गरेको थियो ।

हात्तीले भत्काएको घरको छतले किचिँदा भण्डारी दम्पती घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि दमकको आम्दा अस्पतालमा भर्ना गरिएकामा कृष्णमायाको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

हात्तीको आक्रमण बढ्दै

झापामा भारतबाट आउने र रैथाने जङ्गली हात्तीको आक्रमणबाट जनधनको क्षति बढ्दै गएको छ । गत एक महिनामा दुईजनाको हात्तीकै आक्रमणबाट मृत्यु भएको थियो । यस अवधिमा घाइते हुनेको सङ्ख्या पाँच पुगेको छ ।

यसअघि बाह्रदशी गाउँपालिका-१ का ३७ वर्षीय जगतबहादुर भुजेलको मृत्यु भएको थियो । झापाका पन्ध्रै पालिका जङ्गली हात्तीबाट प्रभावित छन् । हात्तीको आक्रमणमा गत मङ्सिर २५ गते हल्दिबारी गाउँपालिका-४ की ५५ वर्षीया गौरादेवी पौडेल, ६५ वर्षीय नगेन्द्र पौडेल, ५८ वर्षीया पार्वता पौडेल र २८ वर्षीय चेतन पौडेल घाइते भएका थिए ।