प्रचण्डको महत्वाकाङ्क्षासँग जोडे केपीले आफ्नो राजनीतिक अभीष्ट !

प्रचण्डको महत्वाकाङ्क्षासँग जोडे केपीले आफ्नो राजनीतिक अभीष्ट !


प्रचण्डलाई प्रधानमन्त्री पद सुम्पिएर केपी शर्मा ओलीले आफू र आफ्नो पार्टीलाई पुग्ने गम्भीर क्षतिबाट जोगाएका छन् । काङ्ग्रेस-माओवादी गठबन्धन कायम रहेको भए एमालेले राष्ट्रपति र सभामुख जस्ता पदहरू प्राप्त गर्न असम्भव थियो र, केपीको कार्यकालमा भएका संवैधानिक नियुक्तिहरू पनि खारेज हुने निश्चित थियो । प्रचण्डलाई प्रधानमन्त्री दिएर केपीले आफ्नो समयको संवैधानिक नियुक्तिहरू मात्र जोगाएका छैनन्, सभामुख र राष्ट्रपति जस्ता महत्वपूर्ण पदहरू पनि हातलाग्ने स्थिति बनाएका छन् । कुनै अप्रत्याशित घटना भएन भने उल्लिखित दुवैै पदहरू एमालेको पोल्टामा जाने भएको छ । अन्य दलले सभामुख मागेर अड्चन पैदा गरेछन् भने पनि राष्ट्रपति एमालेकै भागमा पर्ने निश्चित मानिन्छ । राप्रपा र जसपाले सभामुखमा दाबी गर्ने सङ्केतहरू देखिएका छन् । एमालेले राष्ट्रपतिमा अष्टलक्ष्मी शाक्य र सभामुखमा सुवास नेम्बाङको चयन गर्ने सोच बनाएको भएपनि नेम्बाङ आफू राष्ट्रपति बन्न इच्छुक छन् । तर अहिलेसम्म कुन जिम्मेवारीमा कसको चयन हुने भन्ने यकिन भैसकेको छैन ।

दुई वर्षपछि प्रचण्डलाई राष्ट्रपतिमा सारेर या नसारिकन केपी प्रधानमन्त्री बन्ने योजनामा छन् । दुई वर्षपश्चात् प्रचण्डले प्रधानमन्त्री पद केपीलाई हस्तान्तरण गर्ने र, त्यसपछि प्रचण्ड राष्ट्रपति बन्नेगरी सहमति बनाउने कुरा पनि विभिन्न कुनाबाट उठिरहेको छ । केपी ओलीले राष्ट्रपति र सभामुख प्रतिकुल हुँदा कस्तो प्रकारका समस्या उत्पन्न हुन सक्छन् भन्ने राम्रोसँग बुझेका छन् । पहिलेको संसद्मा सभामुख आफूअनुकुल नहुँदा केपी निकै अप्ठ्यारोमा परेका थिए । त्यसैले यसपटक प्रचण्डलाई प्रधानमन्त्री दिएर दुवैै महत्वपूर्ण पद हातपार्ने योजना केपीले बनाएका हुन् । तर माओवादीभित्र दुवै पद एमालेलाई दिनु उचित नहुने, राष्ट्रपति र सभामुख पाइसकेपछि केपीको व्यवहार बदलिन सक्ने भन्दै एकथरीले प्रचण्डमाथि दबाब पैदा गरिरहेको बुझिन्छ । दुईमध्ये एउटा मात्र पद एमालेलाई दिनु उपयुक्त हुने उनीहरूको भनाइ छ ।

माओवादीलाई विश्वासमा लिन एमाले नेतृत्वले पार्टी एकीकरणको मुद्दा गम्भीर ढङ्गले उठाएको छ । एमाले र माओवादी एक भएमा धेरै काम गर्न सकिने विश्वास दिलाउने प्रयास भइरहेको छ । एमाले नेतृत्व प्रधानमन्त्रीले विश्वासको मत लिनुअगावै सहमति बनाउन अग्रसर देखिएको छ भने माओवादी नेतृत्व विश्वासको मत लिइसकेपछि मात्रै अन्तिम सहमति बनाउने मानसिकतामा रहेको बुझिन्छ । एमालेका उपाध्यक्ष बिष्णु पौडेल धेरै अघिदेखि नै एमाले-माओवादी एकताको निम्ति क्रियाशील हुँदै आएका थिए । पौडेल अहिले पनि पार्टी एकताको निम्ति पहल गर्नेमा पर्दछन् ।

एमाले नेताहरूमध्ये शङ्कर पोखरेल र बिष्णु रिमाल प्रचण्डलाई प्रधानमन्त्री दिएर सत्ता गठबन्धन बनाउन नहुने पक्षमा थिए । केपी प्रचण्डलाई प्रधानमन्त्री दिन तयार भएपछि रिमाल र पोखरेलको भूमिका रक्षात्मक बन्न पुगेको छ । गठबन्धनमा पौडेल हाबी हुन पुगेका छन्, त्यसैले उनको चल्यो भने माओवादी र एमालेबीच पार्टी एकीकरण हुने सम्भावना छ ।