पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु


पाल्पामा गएराति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रैनादेवीछहरा गाउँपालिका-८ टाडीस्थित सालझण्डी-ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नंको बस दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा रैनादेवीछहरा-८ की ३६ वर्षीया निर्मला घिमिरे, निर्मलाकी ११ वर्षीया छोरी सरुमाया, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया बिमा पाण्डे रहेका छन् । पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार गएराति करिब सवा १० बजे उक्त बस दुर्घटना भएको हो ।

बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो । दुर्घटनामा १८ यात्रु घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको एडमनसिटी हस्पिटल जितगढी, बुटवल तथा १२ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।