धादिङ आइपुग्यो एकीकरण पदयात्रा

धादिङ आइपुग्यो एकीकरण पदयात्रा


  • विकास रौनियार, धादिङ

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले गोरखा राज्य बिस्तारका क्रममा प्रयोग गरेको पदमार्गलाई पहिचान गरी नेपाली सेनाले एकीकरण पदमार्ग पदयात्रा सुरु गरेको छ । गोरखा दरबारबाट बिहीबारदेखि सुरु भएको एकीकरण पदयात्रा धादिङ आइपुगको छ ।

पृथ्वीजयन्तीको अवसरपारेर नेपाली सेनाले ऐतिहासिक नेपाल एकीकरणका क्रममा प्रयोग भएको पदमार्गको संरक्षणका लागि पदयात्रा सुरु गरेको हो ।

बिहीबारदेखि गोरखाबाट सुरु भएको पदयात्रा बिहीबार साँझ नै गोरखा र धादिङको सीमा क्षेत्र बोर्लाङघाट पुग्यो । पहिलो दिनमा गोरखाखण्डको नेतृत्व रिपुमर्दन गणले गरेको थियो । ३० जनाको सहभागिता रहेको पदयात्राको टोलीले टर्च, राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहकै पालामा स्थापना भएका नेपाली सेनाका पाँच कम्पनीका झण्डासहित पदयात्रा सुरु गरेको थियो ।

रिपुमर्दन गणले धादिङको शिवदल गणलाई झन्डा र टर्च हस्तान्तरण गरेपछि धादिङखण्डको पदयात्रा श्री शिवदल गणका गणपति प्रमुख सेनानी अशोकराज बराल, उपसेनानी विशालकाजी बस्नेतसहित जम्मा ४४ जनाले गरे ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रम्मा पहिलो पटक विक्रम संवत १८०० मा नुवाकोटमाथि हमला गरेका थिए, तर सफल हुन सकेनन् । त्यसपछि १८०२ मा लामो तयारीसहित हमला गर्दा गोरखाका राजा शाहले नुवाकोटमाथि विजय प्राप्त गरेका थिए । नुवाकोटविद्ध हमला गर्दा गोरखाराज्यले बुढीगण्डकी किनारमा रहेको बोर्लाङ्गघाट पार गरी सल्यानटार हुँदै सामरी भञ्ज्याङसम्म धादिङ जिल्लामा रहेको पदमार्ग प्रयोग गरेको इतिहास छ ।

तत्कालीन समयमा काठमाडौंको हनुमान ढोका र गोरखा सम्मको दूरी २६ कोष टाढा रहेको र २६ वटै कोषहरुका कोषेढुंगा गाडिएकोमा सात वटा कोषेढुंगा धादिङ जिल्लामा रहेका छन् । सल्यानटार रानीपौवा, हाँसेपसल, खहरेबजार, लाकुरी, कटुञ्जे, भोक्टिनी र थर्पुमा कोषेढुंगा छन् । धादिङ खण्डमा शुक्रबार र शनिबार दुई दिन हुने पदयात्रा यिनै कोषेढुंगा भएर गरिने छ । धादिङ खण्डअन्तर्गत पदयात्राको टोली शुक्रबार साँझ ताम्बइ पुगेर बस्नेछ ।

शनिबार बेलुका जर्बजंङ गणलाई टर्च हस्तान्तरण गरिने बताइएको छ । धादिङ खण्डमा कुल ४२ किलोमिटरको दूरी रहेको छ । यस वर्ष चौथो पटक एकीकरण पदयात्रा गरेको नेपाली सेनाले जनाएको छ ।

यही पौष २१ बाट सुरु भएको पदयात्रा पौष २७ गते पृथ्वीजयन्तीका दिन सकिने छ ।

उक्त कार्यक्रममा अतिथिको रुपमा त्रिपुरासुन्दरी गाऊँपालिकाका अध्यक्ष राजु उप्रेती, धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र श्री ६ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रामचन्द्र कार्की रहेका थिए ।