दोलखामा ‘अन्तर्राष्ट्रिय फिल्मसिटी’ : यस्तो छ हालसम्मको प्रगति

दोलखामा ‘अन्तर्राष्ट्रिय फिल्मसिटी’ : यस्तो छ हालसम्मको प्रगति


चलचित्र विकास बोर्डले बाग्मती प्रदेशस्थित दोलखा जिल्लाको लाँकुरीडाँडामा निर्माणाधीन ‘अन्तर्राष्ट्रिय फिल्मसिटी’को अवलोकन तथा अनुगमन गरेको छ । झण्डै ११ वर्ष अघिदेखि निर्माण प्रक्रिया थालिएको सिटीमा भएका प्रगति विवरण, नयाँ सम्भाव्यता तथा तीन तहका सरकार र निजी क्षेत्रसँगको लगानी सहकार्यको सम्बन्धमा स्थानीय सरकारसँग छलफल भएको छ ।

राष्ट्रतिद्वारा प्रस्तुत चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सम्बोधन भएको फिल्मसिटी अवलोकनको क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, बोर्ड सदस्य राज कटुवाल, सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक मदनदास श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, मन्त्रालयका उपसचिव तथा बोर्डका सदस्यसचिव टंकप्रसाद महतलगायतले फिल्मसिटी रहेको भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर, उपप्रमुख कमला बस्नेत, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईं, नगरपालिकाका कर्मचारीहरू, विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरूलगायतसँग फिल्मसिटीको लगानी सहकार्य, सिटीको महत्व, पर्यटन प्रवद्र्धन, रोजगारी तथा वरपर हुने व्यापारिक केन्द्रको बिषयमा छलफल भएको छ ।

बोर्डअध्यक्ष केसीले भीमेश्वरमा फिल्मसिटी ल्याउनुपर्छ भन्ने योजना ल्याउने वरिष्ठ कलाकार मदनदास श्रेष्ठ तथा सम्बन्धित सम्पूर्ण निकायहरूप्रति आभार व्यक्त गर्दै फिल्मसिटी बन्दा सबैभन्दा खुसी यो देशको कलाकारलाई हुने बताए । ‘फिल्मसिटी बन्दा यो देशका सबै कलाकारहरू सबैभन्दा खुसी हुन्छन् । यो हरेक कलाकारको सपना मात्र नभएर सबै नेपालीमा यो सिटीलाई लिएर निकै उत्साह देखिएको छ, फिल्मसिटी एक छुट्टै संसार हो । मैले बलिउड र हलिउडमा देखेको फिल्मसिटीजस्तै नै हो यो फिल्मसिटी पनि । चलचित्र विकास बोर्डले मात्र होइन, नेपाल सरकार एकदमै रुचि राखिरहेको छ । चलचित्र मनोरन्जनको माध्यम मात्र नभएर हाम्रो देशको कलासंस्कृतिको विकास र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हामी छिट्टै नेपाली र विदेशी फिल्महरू यो सिटीमा छायांकन भएको हेर्न चाहन्छौँ’- भुवन केसीको भनाइ छ ।

यस्तै, नगरपालिकाका प्रमुख मानन्धरले सम्पूर्ण दोलखाबासीले अतिमहत्वपूर्ण फिल्मसिटीलाई सपनाको रुपमा हेरेको बताए । परियोजना सुरु भएको लामो समय बितिसके पनि सोचेअनुरुप प्रगति नदेखिएको बताउँदै उनले भने, ‘यो सपना देखेको धेरै वर्ष भइसकेको छ । यो बीचमा लगानीको समस्याका कारण काम थालनी गरी बेवारिसे रुपमा छोडिन थालेपछि सरकारकै अन्य मन्त्रालयले यसभित्रै आँखा लगायो । सरकारी संयन्त्रहरू कुन अवस्थामा रहेछन् भन्ने कुरा फिल्मसिटीको कथाब्यथाले बताउँछ ।’

सहसचिव खत्रीले नेपालको पहिलो फिल्मसिटी दोलखामा बन्दै गरेको दोलखाबासीलाई बधाई दिए । उनले यो ठूलो परियोजना रहेको बताउँदै स्रोत र साधन धेरै चाहिने भएको हुँदा तुरुन्तै कार्यसम्पन्न भइहाल्ने सम्भावना नरहने बताए । यसको लागि ‘पब्लिक प्राइभेट पार्टनरसिप’को मोडलमा काम अगाडि बढिरहेको उनको भनाइ छ ।

बोर्डले केही वर्षपहिले लगभग दुई हजार रोपनी जग्गामा करिब १६ अर्ब लगानीको डिपिआर तथा मास्टरप्लान तयार गरेको थियो । जसअन्तर्गत विद्युतको प्रसारण लाइन तान्ने, स्टुडियो भित्रपर्ने झण्डै ६ किलोमिटर बाटो कालोपत्रे गर्ने, प्रवेशद्वार तथा सुचना केन्द्र तथा गेष्टहाउसका लागि तीनवटा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको देखिएको छ । ती भवनहरू र प्रवेशद्वार भीमेश्वर नगरपालिकामातहतमा बाग्मती प्रदेश सरकारको लगानीमा तयार हुन लागेका हुन् । केही महिनाभित्र फिल्मसिटी परियोजनालाई नगरपालिकाले भवन हस्तान्तरण गर्ने बताइएको छ ।