तपोभूमि नेपाल आमा

तपोभूमि नेपाल आमा


– रामेश्वर राउत ‘मातृदास’

सत्य-धर्म-न्याय-विवेक जीवन लुकाएर
भन्छन् हिमाल बस्न हुन्न शिर झुकाएर

पौरख नै हो पुरुषार्थ मानव जीवन चोला
कालकुट समन गर्ने सम्झेँ शंकर भोला
अन्यायको गाँस नखाउँ चित्त दुखाएर
सत्य-धर्म-न्याय-विवेक जीवन लुकाएर

चन्द्र-सूर्य झल्मलाउँछन् दुई नयनका नानी
न्यायशील समयलाई जोख्छन् छानी-छानी
कसले राख्छन् कल्पवृक्ष बिस्कुन सुकाएर
सत्य-धर्म-न्याय-विवेक जीवन लुकाएर

तपोभूमि नेपाल आमा तिम्रो सधैं जय
कामधेनु सबकी तिमी छैनौ कहिल्यै भय
बैगुनी भै नहेप है भाँड कुकाएर
सत्य-धर्म-न्याय-विवेक जीवन लुकाएर