कालजयी गीत

कालजयी गीत


– देवकी तिमल्सिना

एउटा गीत लेख्न मन छ- तिम्रो नामको
तार छिनेको सारङ्गीमा तार जोडेर
रेटिरेटि तिम्रै मनको सङ्गीत भरेर
शिरभरिको लालीगुँरास
ओठभरि सजाएर
जतिबेला तिमी आभा छरेर
विहानीमा टुप्लुक्क झुल्कन्छौ ।
मनभरि फुल्न मन छ गुलाफ बनेर
दिलभरि ढाकिन मन छ मझेत्रो बनेर ।
लमतन्न तेर्सिएको पहाडमा टेकेर
समतल परेको तिम्रो बदनमा
प्रेममय सम्वादमा चुर्लुम्मै डुबेर
मनको टुँडिखेलमा खुसीहरू सजाउँदै
जिन्दगीको रङ्गमञ्चमा वसन्त छर्न मन छ ।
सपना देखिरहने आँखाहरूमा
टुकीको उज्यालो छर्दै
सुनसान समयलाई साक्षी मानेर
आलिङ्गनमा शुक्लपक्ष राखेर
बाटुलो जूनसँग लुकामारी खेल्दै
वरिष्ठ कविहरूले लेखून्
हाम्रो जोडीको कविता
प्रेमको अग्लो कुन्युँ बनाएर
अनि म,
रहरहरूको कम्पनी गाडीमा चढेर
तिम्रो नजरसँग नजर जुधाउँदै
तिम्रो बाँसुरीले लेख्न सकुँ
एउटा कालजयी गीत ।