सरकारले पृथ्वीजयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको विनाविभागीयमन्त्री राजेन्द्र राईले जानकारी दिए ।
‘मन्त्रिपरिषद्ले आज पृथ्वीजयन्तीको अवसरमा पुस २७ मा सार्वजनिक बिदा दिने र सरकारको न्यूनतम कार्यक्रम मन्त्रिपरिषदबाट पास गरी कार्यान्वयन गर्ने दुईवटा निर्णय गरेको छ’, मन्त्री राइले बताए ।
सत्तासाझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राख्दै आएको मागलाई सम्बोधन गर्दै सरकारले २७ पुसमा बिदा दिने निर्णय गरेको हो । आज सार्वजनिक गरिएको सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक बिदा दिने उल्लेख छ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई आजको मन्त्रिपरिषद् बैठकले पारित गरेको छ ।
बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहेको थियो । तर २०६२/६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरिसकेको राप्रपाले न्यूनतम् साझा कार्यक्रम, कम्तीमा तीन मन्त्रालय र पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसका रूपमा मनाउनुपर्ने माग गर्दै आएको थियो ।
प्रतिक्रिया