पृथ्वीजयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने

पृथ्वीजयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने


नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीका अवसरमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने भएको छ । पुस २६ गतेदेखि सुरु हुने प्रदर्शनी १५ दिनसम्म सञ्चालन हुनेछ ।

प्रदर्शनीमा साहित्य, समालोचना, बाल साहित्य, कोश, कथा, कविता, इतिहास, लोक साहित्य, संस्कृति, ललितकला, सङ्गीत, विभिन्न ‘जर्नल’ गरी ५०० भन्दा बढी प्रकारका पुस्तक एवं पत्रपत्रिका प्रदर्शनीमा राखिने जनाइएको छ । हालसालै प्रकाशन भएका २० प्रकारका पुस्तक प्रदर्शनीमा आकर्षणको केन्द्र बन्नेछन् । प्रदर्शनीको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले गर्नेछन् ।

प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री गरिने जनाइएको छ । नेपाली बृहत् शब्दकोश एउटा किन्दा १५ प्रतिशत र दुईवटा किन्नेलाई २० प्रतिशत सहुलियत दिने तयारी भएको प्रदर्शनीका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिएका छन् । प्रदर्शनी १५ दिनसम्म चलाउने तयारी गरिएको भए पनि पाठकको चाहना बढ्यो भने अवधि थप गर्न सकिने उनको भनाइ छ ।

प्रदर्शनीमा साझा प्रकाशन, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान एवं सांस्कृतिक संस्थानबाट प्रकाशन गरिएका पुस्तक एवं पत्रपत्रिकासमेत राखिने छ । ललितकला प्रज्ञा प्रतिष्ठानका प्रकाशनमा भने ५० प्रतिशतसम्म सहुलियत दिइने प्रतिष्ठानले जनाएको छ ।

पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते सांस्कृतिक र्‍यालीसहित सिंहदरबारको पश्चिम मूलढोकामा पुगी पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रमसमेत राखिएको छ । पृथ्वी जयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा दिने भएको छ ।