सरकारको सकारात्मक निर्णय

सरकारको सकारात्मक निर्णय


देशले गुमाएका र गुमाउँदै गरेका आफ्ना कैयन मौलिक पहिचानहरूको पुनःस्थापनाका लागि यत्नशील अभियन्ताहरूका लागि यो सन्दर्भ प्रेरक हुन सक्छ । भावी दिनमा पनि नेपाल सरकारले नेपाल र नेपालीको पक्षमा हुने यस्ता अहम् ‘मुद्धा’मा सकारात्मक पहलकदमी तथा निर्णय लिन कुनै हिच्किचाहट दर्शाउनु हुँदैन ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आज ३०१औँ जन्मजयन्ति ! नेपाल एकीकरणका अविश्रान्त अभियन्ता पृथ्वीनारायणको कर्म जति महान् तथा उच्च छ, उनको महानतालाई अवमूल्यन गर्ने नियोजित प्रपञ्च-प्रयत्नहरूको श्रृङ्खला पनि उत्तिकै चल्दै आएको महसूस गर्न सकिन्छ । आधुनिक नेपाल राष्ट्र निर्माणको अतुलनीय योगदान पुऱ्याएका पात्रप्रति आफूलाई नेपाली नै दाबी गर्नेहरूबाट दर्शाइने गरिएको दूराग्रह वास्तवमा गम्भीर चासोको विषय हुनुका साथै हदैसम्मको निन्दनीय पनि छ, जसको चर्चा पृथ्वीजयन्तिको सन्दर्भमा हुनु वान्छनीय नै छ ।

नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहबारे भ्रामक तथा गलत प्रचारबाजी गर्न एकथरिले निकै अघिदेखि नै सुनियोजित प्रयत्न गर्दै आएका छन् । कथित तवरमा आफूलाई सङ्घीय राज्यको पक्षधर बताउने र जातिय राज्यको पक्षमा गतिविधि गर्दै आएका कतिपयले पृथ्वीनारायण शाहको योगदान तथा उनको व्यक्तित्व-कृतित्वविरुद्धका कार्यको पक्षपोषण गर्दै आएका छन् । यस्तोमा राज्यले समेत राष्ट्रनिर्माता र उनको योगदानप्रति संवेदनशीलता नदर्शाइदिँदा पृथ्वीनारायणको विरोधिको मनोवल बढाएको अनुभूति गरिँदै आएको हो । विगतमा पृथ्वीजयन्तिका दिन उनको शालिक तथा प्रतिमामा लात्ती लगाउने, थुक्ने र अपशब्द प्रयोग गरी गाली गर्नेसम्मका घोर अराजकताले पनि छुट पाउँदै आयो । र, राज्यसञ्चालनकै भूमिकामा रहेकाहरूले समेत त्यस्ता अराजक प्रवृत्तिलाई पश्रय दिँदै आए । राज्यको निकम्मापन र उपेक्षाभावका कारण राष्ट्रनिर्माण एवम् राष्ट्रिय एकताको लागि महान् कार्य गरेका ऐतिहासिक पात्र पृथ्वीनारायण शाहले राज्यका तर्फबाट पाउनुपर्ने स्थान पाउन सकेनन् ।

विखण्डनको उद्देश्यबाट प्रेरित भएर पृथ्वीनारायण शाहमाथिको आक्रमणलाई पनि तीव्र पारिँदै आएको सबैले बुझेकै विषय हो । पृथ्वीनारायण शाहलाई क्रुर, अत्याचारी, विभिन्न जातिका संहारकको रूपमा प्रस्तुत गरिनुको निहितार्थ के थियो, के हो भन्ने क्रमशः खुल्दै आएको छ । तथापि, इतिहासको अपब्याख्या गर्दै भ्रम फैलाएर समाजलाई विभाजित गर्न लागिपरेकाहरूको प्रयत्न कुनै न कुनै रूपमा जारी नै रहेको छ । जसले नेपाल राष्ट्रकै निर्माण गरी विश्वमा नेपालीको पहिचान दिलाउने जस्तो गर्वित कर्म गऱ्यो, उसैमाथि यसरी बर्बर बन्नु/बन्न उक्साउनु गम्भीर रहश्यको विषय हो । राजनीतिक अभीष्ट पूरा गर्नकै लागि इतिहासको गलत ब्याख्या र अनि भ्रमपूर्ण प्रचार गर्नुमा सामाजिक सद्भाव तथा भाइचारा खल्बल्याउँदै अन्ततः देशको अस्तित्वलाई नै नामेट पार्ने दूराशय लुकेको छ । यस सत्यबारे बुझ्न जति ढिला गरिन्छ, नेपाल र नेपालीको स्वाभिमान एवम् अस्तित्वको निरन्तरताप्रति त्यति नै खतरा बढिरहन्छ ।

पृथ्वीनारायण शाहप्रति सम्मान दर्शाउनुको अर्थ आधुनिक नेपाल निर्माणमा उनको योगदानको स्मरण हो भन्ने बुझ्दाबुझ्दै पनि एकथरिले राजतन्त्र वा राजसंस्था पुनःस्थापनाको अभियानसँग जोडेर अर्थ्याउने र दुष्प्रचार गर्ने गरेका छन् । राजसंस्थाको पुनर्स्थापनको आवश्यकता वा अपरिहार्यताको बहस अलग्गै महत्वको सन्दर्भ हो । त्यसका अभियन्ताहरूले पृथ्वीनारायण शाहलाई सम्झनु, सम्मान दिनु स्वभाविक कुरा हो । तर राजसंस्था पुनर्स्थापनाको आवश्यकता वा महत्व महसूस नगर्ने, यसको आवश्यकता नै नठान्ने पक्षले पनि पृथ्वीनारायण शाहको कार्यको प्रशंसा गर्न सक्छ, गर्नुपर्छ । किनकि, नेपाल नामक देश त सबैको हो र, नेपालको नागरिक ‘नेपाली’ हुनुको गर्व त हरेक नेपालीले गर्छ, गर्नैपर्छ । जसले नेपाल देश दियो, नेपालीको पहिचान दियो, उसैप्रति कृतघ्न बन्न कसरी सकिन्छ ? सच्चा नेपाली मन या खास नेपालीपनमा राष्ट्रनिर्माताप्रति श्रद्धाभाव हरदम रहन्छ, रहनुपर्छ ।

इतिहासको कठिन समयमा पनि हजारौँ सहयोद्धाको साथ लिएर पृथ्वीनारायण शाहले नेपाललाई विखण्डन हुनबाट बचाए, नेपालको झण्डा विश्वमा चिनाए/चम्काए । यसर्थ उनी सबै नेपालीका खास नायक र नेतृत्वकर्ता हुन् । उनी प्रातःस्मरणीय पात्र हुन् । यस्ता महान् पात्रको जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेर वर्तमान सरकारले सकारात्मक सन्देश दिएको छ । देशले गुमाएका र गुमाउँदै गरेका आफ्ना कैयन मौलिक पहिचानहरूको पुनःस्थापनाका लागि यत्नशील अभियन्ताहरूका लागि यो सन्दर्भ प्रेरक हुन सक्छ । भावी दिनमा पनि नेपाल सरकारले नेपाल र नेपालीको पक्षमा हुने यस्ता अहम् ‘मुद्धा’मा सकारात्मक पहलकदमी तथा निर्णय लिन कुनै हिच्किचाहट दर्शाउनु हुँदैन । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन… सलाम !