सुनिल उलक

अंग्रेज सेनामा भारतमा रहेको गोर्खा सैनिकको तस्बिर हो यो । प्रथम विश्वयुद्ध शुरु हुनुभन्दा एक वर्षअगाडि खिचिएको यो तस्बिरमा सैनिक पोशाकमा गोर्खाली निकै आकर्षक देखिन्छ ।
विदेशी सेनाको लागि नेपालीहरुले भर्ति हुन बलभद्र कुँवरले शुरुवात गरेका थिए । सुगौली सन्धिपछि रुष्ट भएका बलभद्र कुँवर वि.सं. १८७६ मा पञ्जाव केशरी रञ्जित सिंहको सेनामा भर्ति हुन लाहोर पुगेका थिए । त्यतिबेला उनको साथमा अन्यलाई पनि लगेका थिए । उनलाई त्यहाँ शुरु गरिएको नयाँ रेजिमेन्टको कमाण्डर बनाइएको थियो । उनलाई निकै आकर्षक तलब दिएर लोभ्याइएको थियो । त्यो बेला उनले दैनिक १० रुपैया पाउँथे । उनको कार्यक्षेत्र लाहोर थियो, जसले गर्दा लाहुरे शब्दको शुरुवात भयो ।
त्यतिबेला सेनामा भर्ति हुन लाहोर जाने भनिन्थ्यो, जसले गर्दा त्यहाँ जाने लाहुरे भए । सिख राजा हिन्दु हुँदा नेपालीलाई सहज थियो । तर केही गोर्खालीहरु भने लाहौर जान निस्केका मुगल सेनामा पुगे, जसका प्रमुखलाई छोटकरीमा मुग्लाने भनिन्थ्यो । साथै मुगल सेनामा भर्ति हुन जाने क्रमलाई मुग्लान जाने भनिन थालियो भने जाने गोर्खालीहरुलाई मुग्लाने भन्न थाल्यो । नेपालबाट भारत पस्नेहरुले या त लाहुर जाने भन्थे वा मुग्लान जाने भन्थे । सिख अफगान युद्धमा १८७९ चैत्र ३ गते बलभद्रको निधन भयो ।
१८७१ कार्तिकमा शुरु भएको नेपाल अंग्रेज युद्धको बीच गोर्खाली सैनिकको रुपमा भर्ति भएका गढवाली तथा पहाडीहरुले विद्रोह गरेर भगुवा सैनिकको रुपमा अंग्रेजसंग मिल्न पुगे, जसले गर्दा नेपाललाई निकै क्षति पुग्यो । यही सैनिकहरुलाई समाहित गरेर अंग्रेजले फस्ट गोर्खा राइफल गठन गरे । यसरी शुरु भएको गोर्खा रेजिमेन्ट १९७१ सम्म आइपुग्दा १० वटा पुगिसकेको थियो ।
पहिलो विश्वयुद्धको समाप्तिपछि बाँचेर छुट्टीमा आएका (लाहुरे) सैनिकहरुले आफुले लुटेका सामान तथा परिवारको लागि किनेर ल्याएका सामानको साथ केही नौलो ज्ञान तथा अन्य सामग्री पनि लिएर आए । विभिन्न देश पुगेर आएका उनिहरुले नयाँ ज्ञान सिकेर आएका थिए भने खल्तिभरि पैसा पनि लिएर आएका थिए ।
उनिहरुको आगमनसँगै नेपालीले ब्लेडले दाह्री काट्न सिके । उनिहरुले रमाइलोको लागि बोकेर ल्याएको तास बिस्तारै यहाँ जुवाको रुपमा प्रयोग भयो । यिनिहरुले साथमा ल्याएको साबुनले नेपालीले नुहाउन जाने । यसअघि एक प्रकारको माटो वा खरानीले नुहाउने गरिन्थ्यो । चुरोटको नसा यहि लाहुरेको साथ प्रवेश गऱ्यो । चियाको विकास गाउँ गाउँमा भयो । रक्सीको लागि भट्टी पसल खुले ।
पहिलो विश्वयुद्धमा अंग्रेज सेनामा रहेका ६० हजार, तत्कालै अस्थाइ भर्ना गरेका ४० हजार तथा नेपाल सरकारले पठाएका १६५४४ सैनिकले लडेका थिए । यसबापत नेपाल सरकारले त्यति बेला १० लाख पाउण्ड सहयोग पाएका थिए । यहि पैसाले नै नेपालमा चन्द्रशम्शेरले देशमा थुप्रै विकासको योजनाहरु पूरा गरेका थिए ।
अंग्रेज सेनामा रहेका सैनिकहरु एकैचोटि ठूलो संख्यामा देशमा फर्कंदा देशको आर्थिक अवस्था एकैचोटि बदलिएको अनुभुति गरे । तर करिव २० हजार सैनिक मृत्यु तथा अंगभंग भएर देश फर्किए ।
प्रतिक्रिया