कसले दियो यो अधिकार ?

कसले दियो यो अधिकार ?


चर्चित सामाजिक सञ्जाल फेस बुकमार्फत सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताले नेपाली हुनुमा आफूलाई कुनै गर्व नभएको बताउँदै मधेस र काठमाडौंबीचको सम्बन्ध दुई महिनाभित्रमा टुट्न सक्ने अभिव्यक्ति दिँदा सुरुमा त विश्वास नै भएन । जयप्रकाश गुप्ता पटकपटक सञ्चारमन्त्री हुनुभएको र आफू सञ्चार क्षेत्रसँगै सम्बद्ध भएका कारण उहाँ जुनसुकै पार्टीमा रहे पनि जुनसुकै पदमा रहे पनि र नरहे पनि आफ्नैजस्तो अनुभूति हुने गर्छ । मन्त्रीज्यूको ‘फेसबुक स्टाटस’ पढ्दा उक्त कुरा उहाँले नै लेख्नुभएको हो भनेर विश्वास गर्न गाह्रो भयो र लेखेँ, ‘मन्त्रीज्यूको फेसबुक कसैले ह्याक गरेको हुन सक्छ नत्र एउटा मन्त्रीले कसरी यो देशप्रति मलाई कुनै गर्व छैन भनेर भन्न सक्छ ?’ त्यसै पनि यो कुरालाई लिएर समर्थन र विरोधका अनेक कुरा आएका थिए नै त्यसपछि त झनै प्रतिक्रिया आउने क्रम बढ्यो । हाल नयाँदिल्लीमा बसोबास गरिरहेका जनकपुर निवासी प्रवीण झा भन्ने व्यक्तिले प्रतिक्रियामा मलाई सम्बोधन गर्दै लेखे, ‘मन्त्रीजीको पार्सवर्ड कसैले ह्याक गरेको छैन त्यो उहाँ आफैंले लेख्नुभएको हो । हामी मधेसीहरू हिजो हेपिएका थियौँ र आज पनि हेपिएका छौँ, हामीले आफ्नो अस्तित्वको खोजी गर्ने बेला आएको छ, मलाई त नेपाली पासपोर्ट बोकेर हिँड्नै लाज लाग्छ । भारतमा नेपाली भनेर घरका काम गर्ने मान्छे ‘बहादुर’ या पाले भनेर मात्र चिन्छन् यो सब तिमीहरूकै कारणले हो ।’ यी युवाका यस्ता कुराहरूले कुनै पनि नेपालीलाई दु:खी तुल्याउनु स्वाभाविक नै हो, अनेक प्रतिक्रियाहरू आए । एउटा नेपाली ठिटोले यस्ता अभिव्यक्ति दिँदा निश्चय नै दु:ख लाग्यो । नयाँ पुस्तालाई राष्ट्रप्रेमको भावना जागृत गर्न नसकेकोमा अलिकति ग्लानी पनि महसुस भयो । यस्तो लाग्यो कि कम्तीमा हाम्रो पुस्ताले त्यति त गर्न सक्नुपथ्र्यो । त्यस्तो त राष्ट्रियताको भावना भन्ने कुरा अरू कसैले जोगाइदिनेभन्दा पनि आफैं आउने कुरा हो, कुनै नेपाली युवाले मलाई नेपाली पासपोर्ट बोकेर हिँड्न लाज लाग्छ भन्छ भने त्यसलाई कसरी लिने ? जवाफमा लेखेँ, ‘विश्वव्यापीकरणको यो जमानामा नेपाली पासपोर्ट नबोक्ने उपाय खोज्न तपाईं स्वतन्त्र हुनुहुन्छ ।’
जयप्रकाश गुप्ता निरन्तर ‘फेसबुक अपडेट’ गर्ने अत्यन्त कम नेताहरूमध्ये पर्नुहुन्छ । नेता त्यसमा पनि एउटा व्यस्त मन्त्रीले फेसबुकमार्फत सर्वसाधारणका लागि सहज पहुँच स्थापित गरिदिनु आफैंमा सकारात्मक कुरा हो । नेपाली नागरिक भएकै कारणले पटक-पटक यो देशको मन्त्री हुनुभएका उहाँले किन यस्तो धारणा राख्न पुग्नुभयो बुझ्न सकिएको छैन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुक ‘सब मर्ज’ हुन सक्नेजस्तो गम्भीर अभिव्यक्ति दिँदा पनि कहीँबाट खासै प्रतिक्रिया नआएपछि यस्तो बोल्दा के हुँदो रै’छ हेरि हालौँ न त भनेर उहाँजस्तो बौद्धिक व्यक्तित्वले पक्कै त्यस्तो लेख्नु र बोल्नुभएको होइन होला । गणतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता सबैलाई हुन्छ, जे लेखे पनि जे बोले पनि कसैले केही गर्न नसक्ने व्यवस्थाका हामी धनी हौँ । जयप्रकाश गुप्ताको सवालमा उहाँ मन्त्री पदमा हुनुभएका कारणले मात्रै अप्ठ्यारो लागेको हो । नत्र मुलुकमा यति राम्रो गणतन्त्रको स्वाद चाखिरहेका हामीलाई त्यति कुराले खासै फरक पार्ने थिएन । जातीय राज्यका नाममा यहाँ अत्यन्त घृणायुक्त अभिव्यक्ति ?हेट स्पिच) लाई पनि मानिसहरूले कुनै प्रतिवाद नगरी सहिरहेकै छन् ।
अहिले राष्ट्रपतिले राष्ट्रियता र राष्ट्रिय अखण्डताविरुद्ध बोल्दै हिँड्ने मन्त्रीहरूबारे चासो राख्नुभएपछि यो कुराले विशेष महत्त्व पाएको छ । अभिव्यक्ति मात्र होइन यहाँ पद प्राप्त गरेर सो पदको दुरुपयोग गर्दै राष्ट्रिय अखण्डताविरुद्ध लिखित रूपमै सुझाव दिनेहरू पनि छन् जसबारे राष्ट्रपति या अरू कसैले पनि कारबाहीको कुरा गरेको पाइएको छैन । राज्य पुनर्संरचना आयोगका नाममा केही व्यक्तिहरूले राज्यको भत्ता खाएर राज्य टुक्र्याउन मद्दत पुग्ने प्रकारले लिखित रूपमै सुझाव दिँदा तिनीहरूमाथि कुनै पनि कारबाहीको प्रसङ्ग नचल्नु आफैंमा आश्चर्यजनक छ । यदि राज्य टुक्र्याउने अधिकार कसैलाई पनि छैन भने राज्य टुक्र्याउनका लागि लिखित रूपमै सुझाव दिने अधिकारचाहिँ उनीहरूले कहाँबाट पाए ? यो विषयमा पनि छलफल र बहस हुन आवश्यक छ । मदन परियारसहित राज्य पुनर्संरचना आयोगका केही सदस्यले जातीय राज्यका लागि दिएको सुझाव यो मुलुकका लागि कति घातक छ भन्ने कुरालाई लिएर व्यापक रूपमा छफफल हुनुपर्छ । जातीय राज्यका नाममा युगाण्डा, बुरुण्डीलगायतका अफ्रिकी राष्ट्रहरूले भोगेको दु:ख र पीडाको कुरा सर्वसाधारणलाई बुझाउन जरुरी छ । जातीय राज्यको अवधारणा आफैंमा कति खतरनाक कुरा हो भन्ने कुराको जानकारी हुँदाहुँदै यो विषवृक्ष रोप्नका लागि सल्लाह सुझाव दिने तथाकथित विद्वान्हरूको मुखुण्डो करिबकरिब उत्रिसकेको भए तापनि यस्तो संवेदनशील विषयमा मौनता साँध्दा भोलिको पुस्ताले हामीलाई धिक्कार्ने छ । एकजना मधेसी मित्रले केही समयअघि जनकपुरमा भनेको कुरा सम्झनायोग्य छ, उनले यो पङ्क्तिकारसँग भनेका थिए- आफ्नो धर्मका नाममा मुसलमानहरू जसरी कुनै पनि कुरामा सम्झौता गर्दैनन्, त्यसैगरी भारतीयहरू आफ्नो राष्ट्रियताका अगाडि जस्तोसुकै परिस्थिति आइपरे पनि सम्झौता गर्दैनन् तर हामी नेपाली अलिकति पैसा या पद जे पाए पनि कुनै पनि कुरामा सम्झौता गरिदिन्छौँ । अनि यस्तो अवस्थामा हामीलाई हेर्ने दृष्टिकोण कसरी राम्रो हुन्छ ? हो, हामी त जे पनि बोलिदिन्छौँ, जे पनि गरिदिन्छौँ । यसो गर्दागर्दै ‘नेपाली’ भनेर चिनिने गौरव नै मेटियो भने भोलिको पुस्ताले हामीलाई कति सराप्लान् ? जातीय राज्यको नाममा युगाण्डालगायतका मुलुकमा झैं एक जातिले अर्को जातिको अस्तित्व स्वीकार नगर्ने, जसले सक्यो उसैले कुटपिट र मारकाट गर्ने, एक जातिका पुरुषले अर्को जातिका महिलालाई बलात्कार गर्ने, मार्नेजस्ता बीभत्स रूपहरू यहाँ पनि देखिन थाले भने त्यतिबेला हाम्रा नातिनातिनी पुस्ताले हामीलाई हेर्दै तिमीहरूका पालामा यो सब भएको हो । यस्तो बीभत्स अवधारणाले जरो गाड्दै गर्दा तिमीहरू के हेरेर बसेका थियौ ? भनेर हामीमाथि प्रश्न गरे भने के जवाफ दिने ? कल्पना गरौँ, कुनै एक जातिविशेषमा जन्मिएकै कारण भोलि तपाईं या मेरी नातिनीले बलात्कृत हुनुपर्‍यो भने त्यो असहाय वृद्धा अवस्थामा तपाईं-हामी टुलुटुलु उसको दर्ुदशा हेर्नबाहेक के गर्न सक्छौँ ? आँखाभरि आँसुकाबीच तिनले ‘तपाईं त राजनीज्ञि हुनुहुन्थ्यो होइन ? या पत्रकार हुनुहुन्थ्यो होइन ? नागरिक समाजको प्रतिनिधि, वकिल, प्राध्यापक वा यस्तै केही भन्दै के गरेर बस्नुभो ? किन यस्तो अवस्थाको सिर्जना हुन दिनुभो ? भनेर प्रश्न गरे भने त्यतिबेला हामीले दिने जवाफ के हुन्छ ? केही अफ्रिकी मुलुकमा यी सब भएका थिए । त्यसैले जातीय राज्यको अवधारणालाई निमिट्यान्न पार्नका लागि अहिले नै केही गरौँ ।