- डम्बर निदाल, डडेल्धुरा
डडेल्धुरामा एक बालकको हत्या गरी खाल्डोमा पुरिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको आलिताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर खाल्डोमा पुरेको फेलापरेको हो ।
१८ दिनदेखि बेपत्ता बोहराको शव माटोमुनि गाडेको अवस्थामा फेला परेको र प्रहरीले शङ्कास्पद स्थल उत्खनन गरेर बालकको शव निकालेको छ ।
इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक निरीक्षक गंगादत्त बडु नेतृत्वको प्रहरी टोलीले शंकास्पद भनिएको घटनास्थल उत्खनन गरेर बालकको शव फेला पारेको हो । बालकको हत्या गरेर शव खाल्डोमा पुरिएको शंका लागेपछि विज्ञ टोली लिएर प्रहरीले उत्खनन् गर्दा शव फेला परेको प्रहरीको भनाइ छ ।
बालकका बुबा रोजगारीका लागि घरबाहिर छन् । घरमा मृतककी आमा, सौतेनी आमा र एक दाइ छन् । घर–परिवारबाटै उनको हत्या भएको हुन सक्ने भन्दै प्रहरीले दुवै आमा ३४ वर्षीया कलमती बोहरा र ३० वर्षीया जानकी बोहरा (सौतेनी आमा)लाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक बडुले बताए ।
परिवारले समेत बालक हराएको प्रहरीलाई जानकारी दिएका थिएनन् । पुस २७ गते स्थानीयले बालक हराइरहेको सूचना प्रहरीलाई दिएका थिए । बालकका बुवा रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । पुस २७ गते स्थानीयले प्रहरीलाई बालक सम्पर्कमा नरहेको बताएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । बोहरा १२ पुसदेखि नै बेपत्ता थिए ।
प्रतिक्रिया