सुदूरपश्चिमको प्रमुख धार्मिक तीर्थस्थल परशुरामधाममा माघी मेला लाग्ने

सुदूरपश्चिमको प्रमुख धार्मिक तीर्थस्थल परशुरामधाममा माघी मेला लाग्ने


  • डम्बर निदाल, डडेल्धुरा

सुदूरपश्चिम प्रदेशकै प्रमुख धार्मिक क्षेत्र परशुरामधाममा माघ १ गते ठूलो मेला लाग्दैछ । डडेल्धुरा जिल्लाको भित्रीमधेश क्षेत्र परशुराम नगरपालिका–५ परिगाउँस्थित महाकाली नदीकिनारमा अवस्थित प्रसिद्ध धार्मिक स्थल भगवान बिष्णुको छैटौँ अवतार परशुरामले हजारौँ वर्ष यज्ञ तप गरेको पवित्र तिर्थस्नान परशुरामधाममा भोली माघी मेला लाग्ने भएको हो ।

डडेल्धुरा सदरमुकामबाट करिब एक सय किलो मिटर दूरीमा रहेको हिन्दुहरूको प्रसिद्ध तीर्थस्थल परशुरामधाममा शनिबारबाटै चहलपहल बढेको छ भने आइतबार माघेसंक्रान्तिका दिन बिहान स्नान गरेर दिनभरि मेला हुने गर्दछ । परशुरामधामलाई नेपालका चारमध्येको एक धामको रूपमा मानिने गरिएको छ ।

हैयेयवंशी क्षेत्रीयहरूले पिता जगदग्नीको हत्या गरी कामधेनु गाई अपहरण गरेको र आततायी क्षेत्रीयहरुको अत्याचार कम गर्न क्षेत्रीय विनास गरेको एक्काइस पटक पृथ्वीको परिक्रमा गरि पृथ्वीलाई क्षत्रीविहीन गरेपछि भगवान बिष्णुको छैटौँ अवतार मानिने पर्शुरामले सरयू अथवा श्यामा महाकाली नदीमा स्नान गरेको स्कन्द पुराणमा उल्लेख गरिएको संस्कृतिविद्को भनाइ छ ।

महांकालको जटाबाट निस्केको मन्दाकिनी महाकाली नदीमा स्नान गर्नाले गङ्गा स्नानको भन्दा दश गुणा बढी पुण्य प्राप्त हुन जाने, परशुराम तीर्थमा स्नान, तर्पण गर्नाले सय कुल विष्णुलोक जाने तीन लोकमा अति नै पवित्र तीर्थको रुपमा मानिने भएकाले यहाँ सुदूरपश्चिमका नौ जिल्ला लगायत भारतको उत्तराखण्डका विभिन्न स्थानबाट स्नान गर्ने भक्तजनहरू आउने गर्दछन् ।

परशुरामका पिता जमदग्नीले तपस्या गरेको र परशुरामलाई चिरञ्जीवीको वरदान दिइएको भगवान परशुरामले शिवजीको कठोर तपस्यापछि फर्सा (परशु) प्राप्त गरेको, भगवान परशुरामले आफ्नो फर्साले कुण्ड निर्माण गरेको फर्सा वरदान पाएको तीर्थ भएकाले तथा फर्सा बोकेका राम भगवान भएकाले फर्सारामबाट फर्सनान हुँदै अप्रभंश भई पर्शुराम हुन गएको स्थानीय श्रुति पाइन्छ ।

महाकाली गंगास्नानमा तीर्थयात्री भक्तजन मात्र नभइ विभिन्न देवस्थल र मन्दिर भण्डारबाट देवी–देवताका प्रतीक मानिने देउरो स्नान गराइ ग्रहण दोषबाट शुद्ध गराउने प्रचलन रही आएको छ । पछिल्लो समय परशुराम नगरपालिकाको तर्फबाट यस क्षेत्रको प्रचारप्रसारका लागि तीर्थ परिसरमा परशुराम भगवानको विशालमुर्ति निर्माण गरिएपछि आन्तरिक तथा बाह्य पर्यटन वृद्धि भएको छ ।