‘थाहा’

‘थाहा’


प्रथा

थाहा पाएर पनि
म कहिल्यै थाहा नपाएजस्तो छु
र थाहा नपाएर पनि
म सँधैसँधै थाहा पाएजस्तो छु !
कसरी हराइरहेछ
देशको सिमानाभित्रै एउटा सिङ्गो देश
र, किन गीर खेलिरहेछन्
हाम्रो शिरमाथि यी सत्ताका सिकारीहरू ?
ठिक यो बेला
तलाउको डिलमा बसेर
एउटा ‘थाहा’ हेरिरहेछ– समयको कुरूप अनुहार !

तिम्रो आप्पाको घेवा सकेर
फर्किदै गर्दा
कसरी झम्टेथ्यो बाघले पालुङे होलिमा
र उत्तिसको लाथ्रो भाँचेर
कसरी बचाएथ्यो
त्यो हिंस्रक पञ्जाबाट एउटा पर्वतेले ?
थाहा छ कि छैन
म त्यही पर्वते ‘थाहा’ हुँ, मैच्याङ !
हलुङ्गेको पुरानो तपेसमा
आफ्नै बैंस मुछेर
तिमीले पारेको त्यो तमतमाइलो जाँड
घुटुक्क घुट्क्याएर लठ्ठिन
यतिखेर, म तिम्रै आँगनको डिलमा उभिएको छु !

यो इतिहासको अँध्यारो जङ्गलभित्र
मान्छेले गोढ्दै गरेका
कति सिर्जनाहरू पोचिएर गए होलान् ?
तरवारले खिपेर
चोयाझैँ रेटिएको सूचनापाटीबाट
कसरी मेटिए होलान्
यो देशका अनगिन्ति श्रमिक अक्षरहरू ?
ढाडमा दुःखको ढाकर बोकेर
कहाँ हराए होलान्
कोदोका बालासँगै सेलो गाउँदै हिँड्ने डोल्माहरू ?
र यो पृथ्वीको निधारभरि
आतङ्कको डढेलो सल्किएपछि
कसरी अस्ताए होलान्
रङ नभरिँदै जीवनका कलिला इन्द्रेणीहरू ?

थाहा छ कि छैन, च्याङबा !
अँध्यारो ओढेर
वर्षौंदेखि निदाइरहेको बस्ति ब्यूँझाउन
साँझ झरेको बेला,
म डम्फुको धुन बनेर
तिम्रै खोरियाहरूमा ‘थाहा’ आएको छु !

तिमीले देख्न नभ्याएका सपनाहरू
पुरिएको ठाउँ
ऊ त्यही नदीको सुत्केरी बगर हो !
तिमीले भेट्न नसकेका खुसीहरू
लडेको ठाउँ
ऊ त्यही बतासेडाँडाको भीर हो !
तिमीले ढाल्न नसकेको लिङ्गो
ठडिएको ठाउँ
ऊ त्यही सिस्नेरीपारिको खाल्डो हो !
र तिम्रो आँसुको निलो तलाउमा
डुङ्गा चलाउने माझी
ऊ त्यही सेतो दरबारको मालिक हो !

हो, च्याङ्बा !
आँखेले बाँझो फुटाएर पल्टिएका चपरीबाट
बनेका हुन् तिमीजस्तै यी
उदास पहाडका लस्करहरू !
यो झण्डाको किनारा पनि
तिम्रै पसिनाको रङले रङ्गिएको हो !
विफरले खाएर
गलेको तिम्रो बाटुलो अनुहार
र यो देशको नागरिक बडापत्र उस्तै–उस्तै हुन् !
विचारको घाम डुबेपछि
आफ्नै रगतले कोरेको थाङ्काबाट
भित्ताको कमेरोझैँ झरिरहेछ– तिम्रो प्रिय नाम !
नियालेर हेर त,
ऊ त्यो दारिमको झिक्रे डालीमा
तुर्लुङ्ङ झुण्डिएको मैच्याङको सम्झना हुनसक्छ !

थाहा छ कि छैन, मैच्याङ !
जीवनको मूल्य हराएर
सदियौँदेखि शरणार्थी बाँचेको शिविरमा
यो समय म,
सेलोको सुरिलो लय बनेर
तिम्रै वनेली पाखाहरूमा ‘थाहा’ आएको छु !

हो मैच्याङ !
तिमीले सिउँदासिउँदै
सिलाइनसकेको फाटेको मन यहीँ छ !
तिमीले पढ्दापढ्दै
पढिनसकेको दुःखको बाह्रखरी यहीँ छ !
तिमीले हिँड्दाहिँड्दै
हिँडिनसकेको पीडाको क्षितिज यहीँ छ !
तिमीले रूँदारूँदै
रोइनसकेको आँसुको गहिराइ यहीँ छ !
र तिमीले बुन्दाबुन्दै
बुनिनसकेको च्याङबाको जाली–रूमाल पनि यहीँ छ !

साँच्ची मैच्याङ !
सरकारी भारी बोकेर
जुन दिनदेखि तिम्रो आँखे उक्लिन थालेथे
सिस्नेरी डाँडाको अक्करे भीर
त्यही दिनदेखि,
बग्न थालेको हुनुपर्दछ
यो दोभाने खोलामा नीलो पानी !
सायद,
यही खोलाको वेगसँगै बगिरहेछन्
तिम्रो ठेगानामा च्याङबाले पठाएका चिठीहरू पनि !

जीवनको टुकी निभेर
निस्लोट कालिमा मडारिन थालेपछि
पिसाको लालटिन बोकेर
भर्खरै एउटा ‘थाहा’ छिरेको छ– तिम्रो शहरमा !
ओ शासकहरू हो !
सक्छौ भने गिरप्तार गर
तिम्रो इन्द्रकुटको वैकुण्ठ जलाउन
यी विचारका काँटीहरू
सायद, सबैभन्दा खतरनाक हुनसक्छन् !